सुतिरहेको युवतीमाथि बलात्कार, तीन युवक पक्राउ

बेनी : म्याग्दीको बेनी-५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी २० दिनपछि पक्राउ परेका छन्। कात्तिक २ गते एक महिलालाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन बानिँयालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले सोमबार सार्वजनिक गरेको हो।

पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले २२ वर्षीय प्रकाशलाई रुपन्देहीबाट आइतबार, १८ वर्षीय प्रवेश र २४ वर्षीय हिट्मेनलाई सोमबार पोखराबाट पक्राउ गरिएको जानकारी दिए।

‘रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको कात्तिक ४ गते पिडीतले जाहेरी दिएपछि आरोपीको खोजी र अनुसन्धान शुरु गरेका थियौं,’ उनले भने ‘जिल्ला अदालत म्याग्दीमा सामूहिक बलात्कार सम्बन्धी मुद्दा दर्ता र सात दिनको म्याद थपेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ।’

मुद्दा दर्ता नहुँदै अनुसन्धान प्रभावित हुनेगरी सामाजिक सञ्जाल फेसबुकमा गरिएका टिका टिप्पणी, युट्युबर र नाराबाजीका कारण घटना गिजोलिएर आरोपीहरु भागेपछि चुनौती देखिएपनि आधुनिक विधि र प्रविधीको प्रयोग गरेर आरोपी पक्राउ गर्न सफल भएको प्रनाउ राईले बताए।

मुलुकी अपराध संहिता २०४७ को परिच्छिेद १८ को दफा २१९ बमोजिम १८ वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्ठि भएमा सात देखि दश वर्षसम्म कैद सजाँय हुने कानुनी व्यवस्था छ। साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच बर्ष कैद सजाय हुने कानुन छ।

आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दावी गरेका छन्। प्रवेश र प्रकाश सहोदर दाजु भाई हुन्। प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन्। रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन्।

हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन्। प्रवेश र प्रकाश दशैं मनाउनका लागि अभिभावकसँग पुर्ख्यौली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.