अलपत्र परेकालाई निरन्तर उद्धार गर्दै गाउँपालिका

Photo : Google

जुम्ला । जुम्लाको तिला गाउँपालिकाले रुपैडियादेखि महेन्दनगरको गड्डाचौकी सीमानाकामा अलपत्र परेका गाउँवासीलाई उद्धार गर्नेक्रम जारी राखेको छ । यसक्रममा गाउँपालिका अध्यक्ष रतननाथ योगीले आफ्ना नागरिकलाई लिन ती स्थानसम्म बस पठाउने काम गरिरहेका छन्।

अहिलेसम्म २६२ जनालाई सीमानाकाबाट उद्धार गरी गाउँपाालिकाभित्रका सामुदायिक विद्यालयको क्वारेन्टिनमा राखेको उनले जानकारी दिए । तीमध्ये धेरै भारतको विभिन्न शहरबाट आएका छन् ।

गाउँपालिकाले कोरोना जोखिम हुन नदिन उच्च प्राथमिकता दिएको छ । सीमानाकामा अलपत्र परेका नागरिकको नाम रेकर्ड राख्न वडाध्यक्ष परिचालन गरिएको छ । गाउँपालिकाभित्रका केही स्थानीयवासी सीमामा अलपत्र परे बस लिन पठाइने गाउँपालिकाले जनाएको छ ।

क्वारेन्टिनमा बसेकालाई खाना र आवासको व्यवस्था गरिएको छ । कोरोनाको पिसिआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट हुने व्यवस्था मिलाइएको छ । उनले भने, “क्वारेन्टिन व्यवस्थापन र गाउँपालिकाले राहत वितरणका लागि करिब रु ४५ लाख खर्च भएको छ । ”

गाउँपालिकाले तथ्याङ्क सङ्कलन गरेअनुसार एक हजार ५०० जना भारतलगायत तेस्रो मुलुकमा तथा स्वादेशका विभिन्न स्थानमा ५०० जना रहेकाका छन् ।

जुम्ला र कालीकोट जिल्लाको सीमाक्षेत्र बीचमा रहेको सो गाउँपालिकामा कोरोनाको जोखिम हुन नदिन सीमानाकामा कडाइ समेत गरिएको छ

गाउँपालिकाभित्रका सुत्केरीदेखि अन्य रोगका बिरामीलाई चौबीसै घण्टा गाउँपालिकाको सवारी साधन खुल्ला राखिएको स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले जानकारी दिए । उद्धार गरी घरसम्म ल्याएकामा जनप्रतिनिधिले नमूना काम गरेको स्थानीयवासी कर्णबहादुर बुढाले खुशी व्यक्त गरे। रासस