चीनमा काेराेना संक्रमण बढेपछि फेरि लगाइँयाे लकडाउन

काठमाडौं । चीनमा ४० लाख जनसंख्या रहेकाे एक सहरमा लकडाउन लगाइएकाे छ । गाङ्सू प्रान्तको राजधानी लान्झोउमा मंगलबारदेखि लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

शहरमा कोरोनाको बढ्दो संक्रमणपछि यस्तो कदम उठाइएको हो । लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन सूचना जारी गरिएकाे छ । यद्यपि, चीनमा संक्रमितको संख्या निकै कम छ तर गाङ्सू प्रान्तको राजधानी लान्झोउमा सावधानी स्वरुप लकडाउन लागू गरिएको छ ।

सोमबार चीनमा २९ नयाँ संक्रमित भेटिएका थिए जसमध्ये लान्झोउमा ६ जना मात्रै भेटिएका थिए । समाचार एजेन्सी एएफपीले शहरका अधिकारीले लान्झोउमा प्रवेश र त्यहाँबाट बाहिरिने प्रक्रियालाई पूर्ण रुपमा नियन्त्रित गरिने बताएको छ । प्रशासनले एउटा बयानमा भन्यो, ‘सबै मानिस आफ्नो हाउजिङ कम्प्लेक्स भित्र नै बस्नुपर्छ ।’

यसअघि पनि उत्तरी चीनमा हज्जारौं मानिसलाई घरभित्रै बस्न कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनानको ताजा संक्रमण डेल्टा भेरियन्टसँग सम्बन्धित भएको बताइएको छ । स्वास्थ्य अधिकारीले परीक्षणको दायरा बढेसँगै संक्रमितको संख्या पनि बढ्ने अनुमान गरेका छन् ।

Facebook Comments