एमसीसी नेपालको हितमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री देउवाले भनेका वर्तमान सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका हुन् ।

गोरखापत्रको एक प्रश्नमा देउवाले भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर मलाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । यो सरकार परमादेशका साथै जनादेशबाट बनेको हो । मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिंदा १६५ सांसदको समर्थन प्राप्त भएको छ, सरकारलाई राम्रो बहुमत प्राप्त छ । त्यसैले यो सरकार परमादेशको मात्रै नभई जनादेश प्राप्त सरकार हो ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारलाई ‘परमादेशबाट बनेको सरकार’ भनेर आलोचना गर्दै आएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विपक्षी गठबन्धनको तर्फबाट नयाँ सरकारमा दाबी प्रस्तुत गरेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओलीले सरकार छाड्नु परेको थियो । त्यतिबेलादेखि नै एमालेले वर्तमान सरकारलाई जनादेश प्राप्त नभएको र यो परमादेशबाट बनेको भन्दै आएको छ ।

त्यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा भएको भन्दै देउवाले यसमा विवाद गर्न आवश्यक नरहेको पनि बताएका छन् ।

एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएको बताउँदै देउवाले भनेका छन्, ‘एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो । ब्याजमा होइन यो । ऋण होइन, अनुदान हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ ।’

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.