राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्न सिफारिस

काठमाडौँ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश-२०७८ फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

केन्द्रीय समिति र संसदीय दल मध्ये कुनै एकमा २० प्रतिशतमा पुगे दल विभाजन हुनसक्ने प्रावधानसहितको अध्यादेश ल्याइएको थियो । त्यो अध्यादेश फिर्ता नलिएमा आफूहरूको दल फुट्ने, जनता समाजवादी पार्टीले बताइरहेको थियो । त्यही अध्यादेशका कारण गठबन्धन सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाउन सकिरहेको थिएन् ।

अध्यादेश आएपछि एमाले र जसपा विभाजित भएका थिए । दुबै दल विभाजनको प्रक्रिया टुंगिएपछि सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सत्ता गठबन्धनका नेताहरूका अनुसार अब मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री र सत्तारुढ दलका शीर्ष नेताहरू लागेका छन् ।

Facebook Comments