यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णय

काठमाडौँ । सरकारले विभिन्न चार विधेयक व्यवस्थापिका संसदमा पेस गर्न स्वीकृती दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिको शपथ ग्रहण व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

तेजाव तथा अन्य घातक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेस गर्नलाई स्वीकृती दिने र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संघीय संसद्समक्ष पेस गर्न स्वीकृती दिने निर्णय बैठकले गरेको कार्कीले जानकारी दिए ।

समाज कल्याण परिषद्का पदाधिकारीको राजीनामा स्वीकृत
बैठकले समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा कोषाध्यक्ष लोकराज सुवेदीसहितका पदाधिकारीको राजीनामा स्वीकृत गने निर्णय गरेको कार्कीले जानकारी दिए । त्यस्तै सरकारले विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय पनि गरेको छ ।

विष्णुप्रसाद सुवेदी गुल्मीलाई गोरखापत्र संस्थानको रिक्त कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको कार्कीले बताए ।

Facebook Comments