एमालेको सहयोगबिना एमसीसी पास गर्न प्रदीप ज्ञवालीको चुनौती

काठमाडौं । नेकपा(एमाले)का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित ‘नयाँ सरकारको कुटनीतिक अभिमुखिकरणः सम्भाव्य विश्लेषण’ विषयक विचार गोष्ठीमा बोल्दै नेता ज्ञवालीले वर्तमान सरकार सँग बहुमत रहेकाले प्रतिपक्षी दलको सहयोग बिना एमसीसी संसदबाट पास गर्न चुनौती दिएका हुन् ।

विगतमा एमाले नेतृत्वको सरकारले एमसीसी पास गर्न खोज्दा वर्तमान सत्ता गठबन्धनकै दलहरुले सडकमा आगो बालेको भन्दै सम्झौता गलत भए किन सम्झौता गरेको भन्ने प्रश्न समेत गरे । उनले सम्झौता सही थियो भने संसदबाट पास गर्न किन रोकिएको हो भन्ने प्रश्न पनि गरे ।

एमसीसी पास गर्न प्रतिपक्षको सहयोग मागेको भन्दै उनले अब सरकारले संसदमा प्रस्ताव ल्याएपछि मात्रै आफूहरुको धारणा सार्वजनिक गर्ने स्पष्ट पारे । उनले भने, ‘त्यो सम्झौता ठिक थियो भने अघिल्लो सरकारले यसलाई अगाडी बढाऔँ भनेकै हो । किनभने दुई देशबीचको सम्झौताहरु भइसकेपछि सरकार आएपिच्छे फेर्दै जाने हो भनेदेखि त त्यो त कहिल्यैपनि दुई देशबीचका सम्बन्धहरु दिगो हुन सक्दैनन् । सरकार भनेको एउटा अभिछिन्न उत्तराधिकारीवाला संस्था हो । अघिल्लो सरकारले गरेको भएपनि यसलाई अगाडी बढाआँै भन्दा आगो बाल्नु भो उहाँहरुले । सम्झौता गर्ने उहाँहरु गाली खाने केपी ओली । सम्झौता गर्ने उहाँहरु गाली खाने हामी त्यतिबेलाका सरकारमा रहेका मान्छेहरु । यदी त्यो गलत थियो भने सम्झौता किन गर्नुभयो तपाईहरुले ? यदी सहि थियो भने त्यसलाई पास हुनबाट रोक्नु भो किन तपाईहरुले ? अनि आज प्रतिपक्षको सहयोग खोजिरहनुभएको छ । आज उहाँहरु सँग संख्या छ उहाँहरुले अगाडी बढाउने हो भने अगाडी बढाए हुन्छ । जे भन्नुपर्ला प्रस्ताव आइसकेपछि त्यति नै बेला हामिले आफ्नो पोजिसनहरु क्लियर गरौँला ।’

नेता ज्ञवालीले एमसीसीलाई आन्तरिक राजनीतिको किचलोको विषय बनाउनु नहुने बताए । यसले छिमेकी राष्ट्रहरुमा देशको विश्वसनीयतालाई कमजोर गराउने उनको तर्क छ । उनले सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्याको रुपमा लिएको भन्दै सिमा समस्या नै नभएको चिनसँग भने सिमा समस्या देखाएर सम्बन्धमा चिसोपना निम्त्याउने काम गरेको बताए । नेता ज्ञवालीले दुवै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र परिपक्व सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.