काठमाडौं । चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको बलिया प्रमाणहरु फेला परेका छन् । नयाँ सीमा स्तम्भ चीनले आफै राख्नेदेखि पुराना सीमा स्तम्भ ढलेकोसम्म बलिया प्रमाणहरु फेला परेका हुन् । चीनले १२ नम्बर पिलर नयाँ बनाएर खडा गरेको भेटिएको छ । सीमा स्तम्भमै जोडेर तारबार र गेट राख्ने गतिविधिहरु पनि गरेको खुलेको छ ।
सीमा क्षेत्रमा नो म्यान्ड ल्यान्ड राखेर तारबार गर्ने प्रचलन छ । तर, सिधै सीमामा जोडेर तारबार लगाइएको छ । किट भन्ने स्थानको पिलर नम्बर ५ का दुईवटा पिलरमा चीनले तारबार राखेको देखिन्छ । पिलर नम्बर ५२ को स्तम्भ पनि नयाँ बनाएको भेटिएको छ ।
लाप्चा भञ्ज्याङ, लिमीको टाकुल्ले क्षेत्र, गुप्पुदोचामा सीमा अतिक्रमण भएको तथ्य पत्ता लागेको छ । स्थानीयवासीले स्तम्भ रहेको क्षेत्र नेपालकै हो । स्थानीयवासीले १२ नम्बर जस्तै ५ नम्बर र अन्य स्तम्भ भएको ठाउँमा पनि अतिक्रमण भएको छ ।सीमामा तारबार पनि दुई देशको सहमतिमा नभई एकतर्फी लगाएको हुम्लावासीहरु बताउँछन् ।
लोलुजोङमा चीनले पूर्वाधार निर्माण गरेको छ । उसले त्यहाँ सुरक्षाकर्मी तैनाथ गरेको छ । स्थानीयवासीले सीमास्तम्भ विगतमा र अहिले फरक ठाउँमा राखिएको बताए । केही वर्ष अघि मात्र तारबार लोलुङजोङमा संरचना बनाएको बताए ।

यसैगरी सीमा अध्ययन टोली हिल्सा पुगेको छ । गत हप्ताबाट सीमा अध्ययनका लागि चीनसँगको सीमा क्षेत्रमा पुगेको टोली हिल्सातर्फ लागेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको संयोजकत्वमा दुई प्राविधिक, सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरुसहित टोलीलाई स्थानीय र जनप्रतिनिधिले साथ दिइरहेका छन् ।
चिनियाँहरूले भवन बनाएको ठाउँभन्दा पर ग्यापुदोचा भन्ने ठाउँको पानी ढलो भएदेखि यता नेपाल उता चीन रहेकोमा उनीहरूले अतिक्रमण गरी भवनहरू बनाउँदा पनि तत्कालीन केपी ओली सरकार सीमा मिचिएको होइन भनेर बसेकामा नाम्खा ६ का वडा अध्यक्ष पाल्जोर तामाङ गुनासो गर्छन् । वडा अध्यक्ष पाल्जोर तामाङले चिनियाँहरूले करिब डेढ किलोमिटर वर ललुङजोङको नेपाली भूमीमा आएर भवनहरू बनाएको बताएका थिए ।
नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।
यसअघि हुम्लाको मिचिएको विषय देउवा सरकारको कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमति जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताए। माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमति जनाएपछि कार्यदलमा केही समय तनाव उत्पन्न भएको थियो।
