हुम्लाकी सांसद रङ्गमती शाहीले भनिन् : चीनले नेपाली भूमि मिचेकै हो

काठमाडौं । नेपाली काँग्रेसकी सांसद रङ्गमती शाहीले चीनले नेपालको भूमी मिचेको ठोकुवा गरेकी छिन् । उनले पिलर नै नयाँ राखेको र नेपाली भूमिमा भवनहरु बनाएर बार समेत लगाएको बताइन् ।

‘भूमी मिचेको हो,’ एक अन्तर्वार्ताको क्रममा हुम्लाकी सांसद शाहीले भनिन्, ‘पुरानो पिलर नै गायब पारिएको छ ।’ १२ नम्बर पिलर राख्दा जनप्रतिनिधिलाई जानकारी नगराइएको र स्थानीय मान्छे पनि नराखिएको बताइन् । उनले सोधिन्, ‘भूमि मिच्यो भन्ने कि नभन्ने रु’

चीनले हुम्लामा सहयोगहरु गरेको उल्लेख गर्दै आफू देशको भूमि मिच्ने सवालमा बोलिरहने बताइन् । चीनसँग रोटीबेटीको सम्बन्ध रहेको बताउँदै सीमाको सवालमा आवाज उठिरहने बताइन् । सरकारले आफूहरुको बारम्बारको मागपछि सीमा समस्या अध्ययन कमिटी गठन गरेको र त्यसको प्रतिवेदन कुर्न आग्रह गरिन् । आफू कसैबाट प्रभावित भएर नबोलेको बताउँदै भनिन्, ‘ भूमि नमिचेको प्रमाणित गरेर देखाउन्, राजीनामा दिएर सन्यास लिन तयार छु ।’

नाम्खाका उपाध्यक्ष पेमा तामाङले पनि भवनहरू नेपाली भूमिमै बनेको पाइएको बताए । भवनहरू नेपाली भूमिमा रहे पनि केपी ओलीको सरकारले हतारोमा सो भूमि चीनकै स्वामित्वमा रहेको बताउँदा स्थानीयहरू भने चिन्तितसँगै आक्रोशित भएको उनले बताएका थिए ।

यसअघि हुम्लाको मिचिएको विषय देउवा सरकारको कार्यक्रममा समेट्न माओवादी केन्द्रले असहमति जनाइसकेपछि सो विषयलाई घुमाएर लेख्नुपरेको कार्यदलका एक सदस्यले बताए। माओवादीले हुम्लाको लिमीमा अतिक्रमण भएको कुरालाई कार्यक्रममा समेट्न असहमति जनाएपछि कार्यदलमा केही समय तनाव उत्पन्न भएको थियो।

Facebook Comments