काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसीए–नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमसिए–नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै गलत र भ्रामक सामग्री सामाजिक सञ्जालमा सम्प्रेषण गरेकोप्रति आपत्ति समेत जनाएको हो ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘यही भदौ २३ गते ट्वीटर सामाजिक सञ्जालमार्फत एमसीए–नेपाल विकास समितिका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको नक्कली तवरको हस्ताक्षर प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको थियो । उक्त सामग्रीमा एमसीए–नेपाल, एमसीसी र अमेरिकी राजदूतावासका अधिकारीहरूबीच भएको भच्र्युयल बैठकमा कम्प्याक्ट अनुमोदनको पक्षमा प्रचार अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिइएको कपोलकल्पित कुरा उल्लेख गरिएको थियो । सोही सामग्रीमा केही अखबार तथा टीभीलाई परिचालन गरिनुपर्ने झुठो दाबी र नेपाल सरकार, एमसीए–नेपाल र एमसीसीको छापको पनि दुरुपयोग गरिएको थियो ।’
नेपाल सरकारद्वारा गरिएका केही प्रश्नको उत्तर एमसीसी प्रधान कार्यालयबाट उपलब्ध हुनु अघिल्लो दिन उक्त जाली कागजात सामाजिक सञ्जालमा देखापर्न थालेको विज्ञप्तिमा उल्लेख छ । नक्कली कागजातप्रति एमसीए–नेपालले आफ्नो सामाजिक सञ्जालमार्फत खण्डन गर्दा पनि उक्त भ्रामक सामग्री सामाजिक सञ्जालबाट अद्यावधि सम्प्रेषण भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तिमा थप्दै लेखिएको छ, ‘तसर्थ उक्त सामग्रीमा उल्लेख गरिएका विषय तथा निर्णयका रूपमा सम्पूर्ण सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो सञ्चारगृह एवं व्यक्तिसँग कुनै कार्य नभएको जानकारी एमसीए–नेपाल यस विज्ञप्तिमार्फत सर्वसाधारणलाई गराउन चाहन्छ । यसैगरी उक्त सन्देशमा संलग्न गरिएको जस्तो लेटरहेड एमसीए–नेपालले कहिल्यै प्रयोग गरेको छैन र दस्तावेजमा प्रयोग गरिएको कार्यकारी निर्देशक खड्ग बहादुर विष्टको हस्ताक्षर पनि डिजिटल प्रविधिबाट नक्कल उतार गरिएको हस्ताक्षर भएको हुनाले उक्त असत्य सन्देश सम्प्रेषण गर्ने व्यक्तिविरुद्ध कानुनी कारबाही अगाडि बढाउनका लागि एमसीए–नेपालले पहल गरिसकेको र नेपाल प्रहरीको साइबर ब्यूरोसँग पत्राचार भइसकेको छ ।’












Facebook Comments