ताइवान । ताइवानले आइतवार चिनियाँ लडाकु विमानहरूको ठूलो जत्था आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको जनाएको छ।
रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता राख्ने विमान सहित १९ वटा लडाकु विमानहरू ताइवानले “एअर डिफेन्स आइडेन्टीफीकेसन जोन” भन्ने गरेको क्षेत्रमा प्रवेश गरेको बताएको छ।
ताइपेईले एक वर्ष भन्दा लामो समय देखि चिनियाँ हवाई सैन्यले बारम्बार उक्त टापु नजिकै गर्दै आएको यस्ता उडान बारे गुनासो गर्दै आएको छ।
चीनले प्रजातान्त्रिक ताइवानलाई आफ्नै एक छुट्टिएको प्रान्तका रूपमा हेर्छ तर ताइवानले भने आफूलाई सार्वभौम राज्य मान्छ।
ताइवानको रक्षा मन्त्रालयले आइतवार बताए अनुसार चिनियाँ उडानमा चार वटा एच-६ बम हमला गर्ने बम्बर विमानहरू पनि थिए जसले परमाणु अस्त्र प्रहार गर्नुका साथै पनडुब्बीहरूलाई आक्रमण गर्न सक्छ।
मन्त्रालयले एउटा नक्सा सार्वजनिक गरेको छ जसमा उडानको मार्ग देखाइएको छ।
चिनियाँ विमानहरूलाई चेतावनी दिनका लागि क्षेप्यास्त्र प्रणाली तैनाथ गर्नुका साथै आफ्ना लडाकु विमानहरू उडाइएको मन्त्रालयले जनाएको छ।
यस विषयमा चीनले आधिकारिक प्रतिक्रिया जनाएको छैन।
ताइवानले गरेका टिप्पणीमा आफ्नो विमति अभिव्यक्त गर्न बेइजिङले अक्सर यस्ता मिसनहरू सम्पन्न गर्ने गरेको छ।
जुन महिनामा उसले एअर डिफेन्स आइडेन्टीफीकेसन जोनमा १८ वटा सैन्य जेट पठाएको थियो जसलाई हालसम्मकै सर्वाधिक सङ्ख्या मानिन्छ।
पछिल्लो उडानको कारण के हो भन्ने कुरा स्पष्ट छैन।
गत हप्ता ताइवानको रक्षा मन्त्रालये चिनियाँ सैन्यले आफ्नो रक्षा प्रणालीलाई ”काम नलाग्ने” बनाइदिन सक्ने चेतावनी दिँदै चिनियाँ खतरा बढिरहेको बताएको थियो।
चीन – ताइवान सम्बन्ध
सन् १९४९ मा चिनियाँ गृहयुद्धको अन्त्य देखि चीन र ताइवानमा छुट्टै सरकार छन्। बेइजिङले ताइवानको अन्तर्राष्ट्रिय गतिविधिलाई नियन्त्रण गर्ने प्रयास लामो समय देखि गरिरहेको छ र दुवैले प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव बढाउन सङ्घर्ष गरिरहेका छन् ।
हालैका वर्षहरूमा तनाव बढेको छ र बेइजिङले उक्त द्वीप फिर्ता लिन बल प्रयोग गर्न सक्ने सम्भावना अस्वीकार गरेको छैन ।
आधिकारिक रूपमा ताइवानलाई केही राष्ट्रहरूले मात्रै मान्यता दिएको भए पनि प्रजातान्त्रिक रूपमा निर्वाचित त्यहाँको सरकारको विभिन्न देशहरूसँग बलियो व्यावसायिक र अनौपचारिक सम्बन्ध छ ।
अन्य धेरै राष्ट्रहरू जस्तै अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा दौत्य सम्बन्ध छैन तर अमेरिकाको एउटा कानुन अनुसार उसले ताइवानलाई आफ्नो प्रतिरक्षा गर्न आवश्यक उपायहरू उपलब्ध गराउनु पर्ने हुन्छ । एजेन्सी











Facebook Comments