काठमाडौं । चर्चको नियन्त्रणमा पशुपतिनाथ मन्दिरलाई लैजाने तयारी भइरहेको छ । नवगठित समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सञ्चालन गरेका इसाइ सम्बद्ध इन्टरफेथ ग्रुपका पदाधिकारीहरुलाई पशुपति क्षेत्र विकास कोषमा रिक्त रहेको पदमा नियुक्त गरेर पशुपतिनाथ मन्दिरलाई चर्चको नियन्त्रणमा लैजाने तयारी भइरहेको हो ।
स्रोतका अनुसार माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई पशुपति क्षेत्र विकास कोषमा रिक्त रहेका पदमा मेरो मान्छे राख्न भन्दै दबाब दिएका छन् । कोषमा रिक्त रहेका विभिन्न पदमा कांग्रेस तथा माओवादीले पनि आफ्ना मान्छे राख्न चाहेका थिए । तर, माधवले सम्पूर्ण आफ्नो सिफारिसमा नियुक्त हुनुपर्ने अडान राखेका हुन् ।
स्रोत अनुसार इन्टरफेथ ग्रुपले माओवादी र कांग्रेस निकटहरुलाई पनि कोषको पदाधिकारी तथा सदस्य पदमा सिफारिस गर्नेछ । इन्टरफेथ ग्रुपसँग आबद्धहरुमध्येबाट माधवकुमार नेपाल र एकनाथ ढकालले कोषमा नियुक्त गरिने सूची प्रधानमन्त्री देउवालाई बुझाइ सकेका छन्। मन्त्रीमण्डलले उनीहरुलाई चाँडै नियुक्त गर्ने स्रोतको भनाइ छ ।
इन्टरफेथ ग्रुप दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग आवद्ध समूह हो । यो समूहमा विभिन्न धर्मावलम्बी तथा पार्टीसँग सम्बन्धित व्यक्तिहरु रहेका छन् । विभिन्न धर्मका गुरुहरु पनि इन्टरफेथ ग्रुपमा आबद्ध छन् । मूलत: यो ग्रुपले युनिफिकेसन चर्चको प्रचार गर्ने, चर्चको संगठन विस्तार गर्ने काम गर्दै आएको छ ।
कोरियाको युनिफिकेसन चर्चले नेपालमा राजनीतिक पार्टी पनि चलाएको छ । परिवार दल नामबाट सञ्चालित पार्टीले पहिलो संविधानसभामा समानुपातिकमा एक सिट र दोस्रो संविधानसभामा दुई सिट पाएको थियो । यो पार्टीका अध्यक्ष एकनाथ ढकाल हुन् । युनिफिकेसन चर्चको अन्तराष्ट्रिय सञ्चालक समितिमा समेत एकनाथ रहेका छन् । स्रोतका अनुसार नेपालमा युनिफिकेसन चर्चको सम्पूर्ण काम एकनाथले हेर्दै आएका छन् ।
युनिफिकेसन चर्च मार्फत् नै नेपालमा इन्टरफेथ ग्रुप सञ्चालन हुँदै आएको छ । इन्टरफेथ ग्रुपका मुख्य नेतृत्वकर्ता तथा संरक्षकका रुपमा माधवकुमार नेपाल रहँदै आएका छन् । केही महिना अघि युनिफिकेसन चर्चले काठमाडौंमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम गरेको थियो । सो कार्यक्रममा होली वाइन पिएको भनी माधव नेपालको आलोचना भएको थियो ।
एकनाथ ढकालको नेतृत्व र माधवकुमार नेपालको संरक्षकत्वमा रहेको युनिफिकेसन चर्चले नेपालमा दर्जनौं संस्था चलाउँदै आएको छ । जानकारहरुका अनुसार विभिन्न संस्थाका साथै लुज नेटवर्कहरु पनि युनिफिकेसन चर्चले चलाउँदै आएको छ ।
इन्टरफेथ ग्रुप पनि लुज नेटवर्ककका रुपमा सञ्चालन हुँदै आएको छ । यो संस्थामा हिन्दू, मुस्लिम, बौद्ध धर्मका गुरुहरु पनि संलग्न छन् । त्यसरी संलग्न हुनेहरुलाई वर्षेनी दक्षिण कोरिया सहित विभिन्न देश भ्रमण गराइने गरेको छ । एकनाथ ढकाल र माधव नेपालको समूहले विभिन्न धर्म बीच समन्वय गराउने नाममा इन्टरफेथ ग्रुप चलाउँदै आएका छन् । बाह्य रुपमा धर्म समन्वय र धार्मिक सद्भाव भनिए पनि इन्टरफेथ ग्रुपको मुख्य उद्देश्य युनिफिकेशन चर्चको संगठन विस्तार गर्ने रहँदै आएको छ ।
युनिफिकेसन चर्चले अन्य धर्मको विरोध नगरी सुक्ष्म रुपमा युनिफिकेसन चर्चको संगठन विस्तार गर्दै आएको छ । यसका लागि विभिन्न धर्मका अगुवाहरुलाई युनिफिकेसन चर्चले हात लिने गरेको छ । इन्टरफेथ ग्रुपलाई विभिन्न धर्मका गुरुहरुलाई युनिफिकेसन चर्चको समर्थक बनाउन प्रयोग गरिँदै आएको छ ।
नेपालको मात्र नभएर विश्वभरीकै हिन्दूहरुको आस्थाको केन्द्र पशुपतिनाथसँग सम्बद्ध पशुपति क्षेत्र विकास कोषको पदाधिकारी तथा सदस्यहरु इन्टरफेथ ग्रुपसँग सम्वद्ध तथा त्यो ग्रुपप्रति सहानुभुति राख्नेहरुलाई नियुक्त गर्नु युनिफिकेसन चर्चको ठूलो सफलता हुनेछ । यही कारण नवगठित समाजवादी पार्टीका अध्यक्ष नेपालले कोषलाई इन्टरफेथ ग्रुपको नियन्त्रणमा लैजान खोजिएको बुझिएको छ ।
त्यस्तै केही समयअघि पशुपति क्षेत्र विकास कोषको नाममा रहेको जग्गामा चर्चा बनाइएको भन्दै विरोध भएको थियो । मुलुकमा इसाईकरण बढिरहेको समयमा विश्वका हिन्दुहरुको आस्थाको केन्द्रमा पनि इसाई प्रार्थनास्थल चर्च बनाएको पाइएपछि विरोध भएको थियो ।
काठमाडौंको कालोपुल नजिकै श्रीको नाममा रहेको जग्गामा ज्ञानेश्वर चर्चका नाममा अनधिकृत रुपमा दुरुपयोग भएपछि व्यापक विरोध भएको थियो । उक्त चर्च हटाउन सर्वोच्च अदालतले परमादेश दिएको भएपनि पशुपति क्षेत्र विकास कोषले चर्च हटाउन सकेको छैन ।











Facebook Comments