ओलीप्रति कटाक्ष पोख्दै माधव नेपालले गरे सनसनी पूर्ण खुलासा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीका कारण पार्टी गणतन्त्रविरोधी हो कि भन्ने प्रश्न उत्पन्न भएको बताएका छन् । उनले ओलीकै नजिकका मान्छेबाट संघीयताविरोधी आवाजहरू उठ्न थालेको भन्दै असन्तुष्टी जनाए ।

आफूनिकट जनसंगठनका नेता/कार्यकर्तासँग भर्चुअल संवादमा बोल्दै नेता नेपालले ओलीको तीव्र आलोचना गरेका थिए । उनले ओलीले पार्टीको दुर्दशा बनाएको भन्दै यसलाई माथि उठाउन अब लामो समय लाग्ने टिप्पणी गरे ।

नेपालले भने, ‘उहाँले एकपछि अर्को आफ्ना सहयोद्धालाई छोड्दै जानुभएको छ । साथ दिनेहरूसँग टाढिँदै जानुभएको छ । आज उहाँले पार्टीलाई जुन दुर्दशामा पुरयाउनु भएको छ, त्यसको क्षतिपूर्ति गर्न लामो समय लाग्छ ।’ ओलीले देशभक्तिको झण्डा फालेको र लोकतन्त्रको मूल्यमान्यता त्यागेको आरोप पनि लागाए ।

‘उहाँका कारण आज एमाले गणतन्त्रविरोधी हो कि भन्ने प्रश्नचिन्हमा उभिएको छ,’ उनले भने, ‘राजावादी शक्ति उत्साहित बनेका छन् । राजतन्त्रको पुनस्र्थापना हुने खतरा बढेको छ । प्रतिगमनकारी शक्ति, धर्मनिरपेक्षताविरोध शक्ति सल्बलाउन थालेका छन् ।’

नेपालले थपे, ‘उहाँको नजिकका व्यक्तिहरुबाट संघीयताविरोधी आवाजहरु उठिरहेका छन् । संघीयता नै धराशयी हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ । जनताले पाएका अधिकार गुम्ने चिन्ता छाएको छ । विभिन्न जातजातिहरू चिन्तित बनेका छन् ।’

Facebook Comments