काठमाडौं । मन्त्रिपरिषद् विस्तार हुन नसकेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यराज्यमन्त्रीमा किन उमेश श्रेष्ठलाई नियुक्ति गरे ? कोरोना महामारीको समयमा मन्त्रालयलाई सशक्त बनाउन पक्कै होइन। महामारीको बेला स्वास्थ्यमा हुने ठेक्काको सेटिङ मिलाउन हो भन्ने चर्चा बालुवाटारमा चलेको छ।
श्रेष्ठ स्वास्थ्यमन्त्रीमा नियुक्त भएलगत्तै मन्त्रालयमा भएका गतिविधिले त्यही देखाउँछ। मन्त्रालय राज्यमन्त्री श्रेष्ठले नभई प्रधानमन्त्रीपत्नी आरजु देउवाले चलाएको मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
हालैका दुई सरुवाबाट पनि त्यही प्रष्ट हुन्छ। राज्यमन्त्री श्रेष्ठले वीर अस्पतालमा सञ्चालित युनिफाइड कोभिड अस्पतालको प्रमुखमा डा रुद्र मरासनीलाई नियुक्त गरेका थिए। भोलिपल्ट आरजुको आदेशमा त्यसरी सच्याएर भूपेन्द्र बस्नेतलाई नियुक्त गरियो। बस्नेत वीरमा हुँदा करोडौं घोटालामा मुछिएका व्यक्ति हुन्। कमाउन र बुझाउन माहिर भएकाले उनलाई नै त्यसरी रोजिएको स्रोत बताउँछ।
स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्तिमा झन् बदनाम पात्रलाई जिम्मेवारी दिइएको छ। स्वास्थ्य मन्त्रालयकै सबैभन्दा विवादास्पद सहसचिव डा आरपी बिच्छालाई महानिर्देशक बनाइएको छ। उनको जागिर तीन महिना मात्र बाँकी छ।
खासगरी औषधीको ठेक्काको सेटिङ मिलाउन उनलाई त्यहाँ लगिएको स्रोत बताउँछ। अन्य अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको सरुवाका लागि पनि एक गिरोहले हाल पैसा उठाइरहेको स्रोत बताउँछ। साथै, स्वास्थ्य ठूला मेडिकल माफिया पनि राज्यमन्त्री भन्दा आरजुसँग सेटिङ मिलाउनतर्फ लागेका छन्। (दृष्टिन्यूज डटकमबाट साभार)
Facebook Comments