काेराेनाकाे कहर: आइसोलेशननै नभएको जिल्लामा ३३ जना संक्रमित

काठमाडौं – सर्लाहीमा कुल कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । यसमध्ये दुई जना काठमाडौंमै बस्दै आए पनि बाँकी यहींका छन् ।

गोडैता नगरपालिकामा मात्रै। २६ जना कोरोना संक्रमित फेला परेका छन्। शुक्रबार १४ जना संक्रमित देखापरेकोमा शनिबार थप १२ जना संक्रमित भेटिएका हुन् ।
सो ठाउँमा संक्रमित भेटिएका सबै भारतबाट आएका हुन्। उनीहरु सीमा नाकाबाट लुकेर छिरेको पाइएपछि क्वारेन्टाइनमा भर्ना गरिएको थियो ।

शनिबार सर्लाहीको कविलासी नगरपालिकामा पनि १ जना पुरुष संक्रमित देखिएका छन् ।

कोरोना संक्रमित थपिदै गएपछि आइसोलेसनको समस्या भएको छ । शनिबार बिहान १३ जना संक्रमित फेला परेपछि उनीहरुलाई कुन ठाउँको आइसोलेसनमा राख्ने भन्ने बिषयमा छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

शनिबार बिहान फेला परेका बाहेक यसअघिका संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाम र नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा राखिएको छ ।

जिल्लामा हालसम्म एउटा पनि आइसोलेसन छैन। तर जिल्लामै आइसोलेसन बनाउने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।

Facebook Comments