काठमाडौं – नेपालमा कोरोना संक्रमण भएका दश जनालाई म्यकुरमाइकोसिस अर्थात कालो ढुसीको संक्रमण भएको पाइएको छ। कोरोनाको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना संक्रमण भई उपचाररत र निको भएका गरी दश जनामा कोलो ढुसीको संक्रमण भएको बताए।
यो संक्रमण कमै मात्र देखिने बताउँदै उनले संक्रमण गम्भीर भए प्राणघातक समेत हुन सक्ने जानकारी दिए। कोला ढुसीको संक्रमण भएका बिरामीहरुमा ज्वरो निरन्तर आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने लगायत लक्षण देखिने मन्त्रालयले जनाएको छ।
४५ देखि ६५ उमेर समूह, मधुमेह तथा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, धेरै किसिमको एन्टीबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरु यसको जोखिममा हुने प्रवक्ता पौडेलले बताए।
एन्टीबायोटिक र स्टेरोइड औषधि चिकित्सकको परामर्श अनुसार मात्र प्रयोग गर्न उनको आग्रह छ। यो समस्याबाट बच्न सफा र सुख्खा मास्कको प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने, नियमित रुपमा हात धुने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजान मन्त्रालयलको आग्रह छ। कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्ति सर्दैन। शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएको बेलामा मात्र कालो ढुसीको संक्रमण हुने उनले बताए।
