चितवन स् कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै स्थानीय तहलाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ। जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को सोमबार बसेको बैठकले भरतपुर महानगरमा २०० तथा अन्य स्थानीय तहलाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।
गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनः सञ्चालन गर्न समेत बैठकले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। स्वास्थ्य अवस्था सामान्य रहेका संक्रमितलाई होमआइसोलेसन अथवा स्थानीय तहले सञ्चालन गर्ने आइसोलेसनमा राखिनेछ। स्वास्थ्य अवस्था जटिल भएका सङ्क्रमितलाई भने अस्पताल आउन डिसिसिएमसीले आग्रह गरेको छ।
यस्तै‚ डिसीसिएमसीले चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस ९पुरानो मेडिकल कलेज० लगायतका निजी अस्पतालमा थप आइसोलेसन, एचडियु, आइसियू र भेन्टिलेटर निर्माण गरी संक्रमितको सहज उपचार गराउन पनि आग्रह गरेको छ। यसमा सहजीकरण तथा समन्वयका लागि भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा। भोजराज अधिकारीको संयोजकत्वमा रहेको समितिलाई पुनः क्रियाशील बनाउन निर्देशन दिएको छ।
जिल्लाभित्र अक्सिजन उत्पादन गर्ने सबै कम्पनीलाई क्षमताअनुसार अधिकतम अक्सिजन उत्पादन गरी मौज्दात राख्न पनि आग्रह गरिएको छ। बैठकले भरतपुर अस्पतालमा थप भेन्टिलेटरको व्यवस्था गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गर्ने निर्णय पनि गरेको छ।
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन डिसिसिएमसीले आग्रह गरेको छ। डिसिसिएमसीले अत्यावश्यक कामले घरबाहिर निस्कन परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि आग्रह गरेको छ।
जिल्लाभित्रका सबै एम्बुलेन्स चालकलाई २४सै घण्टा सेवा दिने गरी तयारी अवस्थामा रहन पनि आग्रह गरेको प्रजिअ लमिछानेले जानकारी दिए। यस्तै‚ भीडभाड हुने हाटबजार बन्द गर्ने तथा सभा, सम्मेलन पनि गर्न नदिने निर्णय गरिएको छ। कार्यक्रम गर्नैपरे स्वीकृति लिएर २५ भन्दा बढी व्यक्ति सहभागी नहुने गरी मात्रै गर्न पाइने डिसिसिएमसीले जनाएको छ। जिल्लामा सक्रिय संक्रमितको संख्या ४५८ पुगेको छ। तीमध्ये ४२१ होमआइसोलेसनमा र ३७ जना अस्पतालमा उपचाररत छन्।-रासस




Facebook Comments