कोरोना परीक्षणको शुल्क तोकिएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको बताएको छ। सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे बनाएको निर्देशिकाअनुसार सरकारी अस्पतालमा निस्शुल्क परीक्षण भैरहेको छ।

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क नतोकिएको स्पष्ट पारेको हो । सरकारी निर्देशिकाको मापदण्डबाहिरका व्यक्तिले भने कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने मन्त्रालयले जनाएको छ । तर त्यसका लागि पनि शुल्क अहिले नतोकिएको मन्त्रालयले जनाएको छ ।

शुल्कका बारेमा छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए । सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय भने गरेको छ ।

Facebook Comments