धनुषामा लागू औषध गाँजासहित दुई जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ मा डेरा लिएर बस्‍ने ५२ वर्षीय जिवन साह र वडा नम्बर १५ बस्‍न‍े ३९ वर्षीय रविन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जनकपुर उपमहानगरपालिका २४ बसहियास्थित सिक्स लाइन बाटोमा बेचविखन गरिरहेको अवस्थामा सादा पोशाकमा खटिएका प्रहरीले उनीहरूलाई पाँच किलो गाँजासहित पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

उनका अनुसार ना २८ प ५७३९ नम्बरको मोटरसाइकल र ज ११ प ८७६९ नम्बरको मोटरसाइकलसमेत उनीहरूको साथबाट बरामद गरिएको छ । गाँजासम्बन्धमा प्रहरीले सोधपुछ गर्दा जिवनले रविन्द्रलाई बेच्‍नका लागि ल्याएको बताएका मिश्रले बताए ।

पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषधमा मुद्दामा म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

Facebook Comments