माओवादीबाट एमालेमा गएका ५ जनाको सांसद पद धरापमा

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि माओवादी केन्द्रका ५ सांसद एमालेमै बस्ने भएसँगै उनीहरुको सांसद पद धरापमा परेको छ ।

आफ्नो पूर्व पार्टीमा नफर्किने भएपछि माओवादी केन्द्रको शनिवार बसेको स्थायी कमिटी बैठकले रामबहादुर थापा ‘बादल’ सहितका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ भने आइतबारको बैठकले उनीहरुमाथि कारवाही गर्ने तयारी गरेको छ ।

पूर्व पार्टी माओवादी केन्द्रमा रहेका २३ जना नेता एमालेमा गएका छन् । जसमध्ये ५ जना सांसदमा गृहमन्त्री रामबहादुर थापा बादल,श्रम तथा रोजगार मन्त्री गौरीशंकर चौधरी,उर्जामन्त्री टोपबहादुर रायमाझी,उद्योगमन्त्री लेखराज भट्ट र शहरी विकास मन्त्री प्रभु साह रहेका छन् ।

माओवादीकै मणि थापा र दावा तामाङ मन्त्री भएपनि उनीहरु सांसद हैनन् । उनीहरुलाई पार्टीमा फिर्ता बोलाउने र नफर्किएमा साधारण सदस्य समेत नरहने गरी कारवाही गर्ने तयारी थालिएको छ । साथै उनीहरुलाई प्रक्रिया अनुसार सांसद पद समेत नरहने गरी कारवाही गरिने माओवादी केन्द्रका नेताहरुको भनाइ छ ।

Facebook Comments