छात्राकाे संवेदनशील अंगमा हातपात गर्ने शिक्षक पक्राउ

दाङ । जिल्लामा छात्रालाई मध्यान्तरको समयमा संवेदनशील अंगमा हातपात गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छात्रालाई कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा दाङ प्रहरीले शिक्षकलाई पक्राउ गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.११ स्थित अमर मावि उरहरीका ती शिक्षकविरूद्ध बाल यौन दुराचारको उजुरी परेपछि पक्राउ गरिएको हो। तुलसीपुर-११ सुकौराका शिक्षकलाई प्रहरीले फागुन २६ गते पक्राउ गरेको प्रहरीले जनाएको छ।

एक हप्ताअगाडि फागुन २३ गते दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पर्ने एक १३ वर्षीया छात्राले आफूलाई ती शिक्षकले संवेदनशील अंगमा हातपात गरेको आरोप लगाएकी थिइन। पीडित छात्राको तर्फबाट उनका बुवाले फागुन २६ गते बाल यौन दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका थिए। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको इप्रका तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार घटना २३ गतेको हो तर, २४ गते नारी दिवस परेको हुँदा विद्यालय बन्द भएपछि फागुन २५ गते ती शिक्षक विद्यालय पुग्दा विद्यार्थीले विरोध गरेका थिए । त्यसपछि २६ गते मुद्दा परेपछि शिक्षकलाई पक्राउ गरिएको हो । पक्राउ परेका शिक्षकविरूद्ध दाङ देउखुरी जिल्ला अदालतले घटना अनुसन्धान गर्न सोही दिन सात दिनको म्याद थप भएको छ ।

Facebook Comments