रोजगारी गुमाएकालाई महिनाको ५ हजार दिन प्रस्ताव

काठमाडौँ । प्रतिपक्षी दल कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले न्यून आय भएका, किसान र रोजगारी गुमाएकालाई महिनाको ५ हजार नगद रकम उपलब्ध गराउन सरकारसामू प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले तीन महिनाका लागि रोजगारी गुमाएका, श्रमिक र किसानलाई रकम उपलब्ध गराउन सरकारसँग प्रस्ताव गरेका हुन् ।

‘मुलुकलाई रोग र भोकबाट जोगाउनुपर्छ । जनताका लागि रोग र भोकबाट जोगाउनका लागि काम गुमाएका मजदुर, श्रमिक र समाजको तल्लो तहमा रहेका विपन्न किसानलाई तीन महिना महिनाका लागि ५ हजारको दरले १५ हजार रुपैयाँ देओस् र उनीहरूलाई जीवन सहज पार्न भूमिका खेलोस्,’ कार्कीले भने ।

बजेट ल्याउने क्रममा वर्तमान नेपालको यथार्थलाई ध्यान दिन पनि कार्कीले सुझाव दिएका छन् । बजेट मितव्ययी हुनुपर्ने उनको भनाइ छ । सरकारले ठूला परियोजना निर्माणमा ध्यान दिनुभन्दा पनि छिटो प्रतिफल दिने आयोजना सम्पन्न गर्नुपर्ने उनको सुझाव थियो ।

Facebook Comments