संसदमै भीम रावलद्वारा कांग्रेस सभापति देउवाकाे अभिव्यक्तिको खण्डन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले संसदमै प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट छिटो पास गर्नुपर्छ भन्ने अभिव्यक्तिको खण्डन गरेका हुन् । साेही क्रममा उनले सभापति देउवालाई महाकाली सन्धि समेत सम्झाए।

‘एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो,’ रावलले भने ।

आइतबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सभापति देउवाले एमसीसीलाई सदनबाट पारित गर्नेबारे सरकारले उदासिनता देखाएको आरोप लगाएका थिए । उनले चालु अधिवेशनबाट एमसीसी पारित गराउन पनि माग गरेका थिए ।

सभापति देउवाले भनेका थिए, ‘यही सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु । पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उल्लंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु ।’

आइतबार देउवाले एमसीसीबारे दिएको अभिव्यक्ति

अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोगसम्बन्धी सम्झौता एमसीसीलाई यो सदनबाट पारित गर्नेबारे सरकारको उदासीनता देखिएको छ । नीति तथा कार्यक्रममा यसलाई समावेश गरेरै जिम्मेवारी र जवाफदेहिताका साथ सरकार अग्रसर हुन सकेको देखिएन । यसलाई यही सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु । पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उल्लंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु ।

सोमबार रावलले एमसीसीबारे देउवालाई दिएको जवाफ

हाम्रो देशमा निकै विवादास्पाद मिलेनियम च्यालेन्ज कर्पोरेसनको कुरा जुन उल्लेख गरिएको छ । यो अलि पछाडिको ढोकाबाट आउन खोजे जस्तो मलाई अनुभूत भएको छ ।

एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले । उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । आज महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो ।

त्यसैले यो मिलेनियम च्यालेन्ज कर्पोरेसन यहाँ परेको छ । म आशा गर्नु यो पक्कै पनि त्यो सम्झौता अन्तर्गतको हुने छैन । यदि त्यो भयो भने राष्ट्र हित विपरीत हुनेछ । त्यो नेपाली जनताले उठाउँदै आएको आवाजको विपरीत हुनेछ । एउटा स्वाधिन स्वतन्त्र देशको हैसियतमा आँच पुर्याउने कुनैपनि सम्झौता कुनैपनि पैसामा साट्न सकिँदैन ।

Facebook Comments