काठमाडाैँ । चिनियाँ लगानीमा दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन इन्डस्ट्रियल पार्कका पीडितलाई न्यायोचित सम्बोधन गर्नुपर्ने र उनीहरुको रोजगारको ग्यारेन्टी गर्नुपर्ने संघीय लिम्बुवान मञ्च नेपालले माग गरेको छ ।
चीनले ‘वान बेल्ट वान रोड’ (ओबर) अन्तर्गत उक्त पार्क निर्माण गर्न लागेकाे हाे। मंगलबार प्रेस विज्ञप्ति मार्फत छ बुँदे माग अगाडि सारेको छ । झापाको गौरादह र दमक नगरपालिका जोडिएको हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्क पीडितहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग गरेको छ ।
संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पीडितहरुलाई न्यायोचित सम्बोधन गर्दै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने माग गरिएको छ ।
पार्कमा ओबरअन्तर्गत चीनले ३ सय अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । पार्कका लागि नेपाल औद्योगिक क्षेत्र विकास लिमिटेडअन्तर्गतको दमक क्लिन इन्डस्ट्रियल पार्क प्रालिले जमिनको व्यवस्था गर्नेछ ।
सम्झौतामा ओबरलाई जमिन ४० वर्षका लागि लिजमा दिने उल्लेख छ । पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुने छन् । पार्कभित्रै ४० प्रतिशत खुला क्षेत्र, स्कुल, बैंक, हस्पिटल, सपिङ मल, मजदुर आवाससमेत निर्माण हुनेछन् ।
चीनले विशेष गरी नेपाल, भारत, बंगलादेश र म्यानमारको बजारमा आफ्नो पहुँच विस्तार गर्न दमकमा इन्डस्ट्रियल पार्क निर्माण गर्न लागेको स्राेतकाे भनाइ छ। 











Facebook Comments