मुम्बई । पछिल्लो समय बलिउड कलाकारको विवाहको चर्चा चल्दै गइरहेको छ । बलिउड अभिनेता वरुण धवन र नताशा दलालबीचको विवाहको चर्चा सेलाउन नपाउदै अहिले श्रद्धा कपुरको प्रेम र विवाहबारे चर्चा शुरु भएको छ ।
आइतबार अभिनेता वरुणले बच्चादेखिकै साथी नताशासँग विवाह गरे । सामाजिक सञ्जालमा बद्याईको ओइरो आइरहेको छ । यसैबीचमा श्रद्धा कपुरसँग अफेयरमा नाम जोडिने गरेका रोहन श्रेष्ठले वरुण धवन र नताशा दलाललाई बद्याई दिदै एउटा पोस्ट सेयर गरेका थिए । रोहनले वरुणलाई लेखेका थिए , ‘शुभकामना वरुण र नताशालाई । वरुण तिमी भाग्यमानी रैछौ ।’ वरुणले जवाफमा लेखेका थिए,‘साँच्चिकै हुँ । आशा छ तिमी पनि तयार छौ ।’
वरुणको यो प्रतिउत्तरलाई रोहन र श्रद्धाको पनि विवाहको संकेतको रुपमा धेरैले अर्थ्याएका छन् । बजारमा केही समयदेखि रोहन र श्रद्धाको अफेयर रहेको खबर छ । पापाराजीले धेरै पटक दुवैलाई विभिन्न अवसरमा ‘स्पट’ गर्ने गरेका छन् ।
नेपालमा यसै पनि बलिउड कलाकारबारे धेरैको चासो हुन्छ त्यसमाथि पनि रोहन श्रेष्ठ नेपाली मूलका परे । रोहन श्रेष्ठ नेपालीमुलका फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । त्यसैले यी दुईको विवाह हुन लागेको खबरले नेपालीहरूको पनि कान ठाडा भएका छन् । यही समयमा टाइम्स अफ इन्डियाले श्रद्धाको बुबा शक्ति कपुरलाई विवाहका बारेमा सोधेको थियो । जवाफमा शक्ति कपुरले रोहन मात्र होइन छोरीले विवाह गर्न चाहने जोसुकैसँग पनि आफू विवाह गराइदिन तयार रहेको बताएका छन् ।
‘रोहन मात्र किन, उनले जोसँग विवाह गरेर सेटल हुन चाहन्छिन्, मेरो असहमति हुन्न,’ शक्ति कपुरले भनेका छन् । शक्ति कपुरले रोहन र श्रद्धा बच्चैदेखिको साथी भएको र घर आउने जाने गरिरहने भएकाले श्रद्धाले अहिलेसम्म विवाहको कुरा नगरेको पनि बताएका छन् ।
Facebook Comments