काठमाडाैँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालमाथि कटाक्ष गरेका छन् ।
निर्वाचन आयोगले नेकपा विभाजनका सम्बन्धमा गरेको निर्णयपछि थापाले माधव नेपालप्रति कटाक्ष गर्दै फेसबुक स्टाटस लेखेका हुन् । ‘पहिले दरबारको पश्चिम ढोकामा सभक्ति बिन्तिपत्र चढाउँदा प्रधानमन्त्री बन्न नपाएको इतिहासकै पुनरावृत्ति,’ आफ्नो फेसबुक स्टाटसमा नेपालले दुवै हातले टाउको समाएको तस्वीर राख्दै थापाले लेखेका छन्, ‘अहिले कार्की बैंक्वेटमा आयोजित प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध घोषणा ।’
आइतबार निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहले गरेका निर्णय कानुनसम्मत नभएको निर्णय गरेको थियो ।
‘एकीकृत पार्टीको तेस्रो अध्यक्ष बन्न भन्दा मनले मानेन,’ थापाले नेपाललाई नेकपाको तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरिएको तर त्यसलाई अस्वीकार गरेको प्रसंग कोट्याउँदै भनेका छन्, ‘तेल दिँदा नखाने कोल चाट्ने गर्दा त यस्तै हुन्छ नै ।’
https://www.facebook.com/suryathapa.sun/posts/3535746573190354
Facebook Comments