काराेना जस्तै अर्को महाव्याधि आउन सक्ने चेतावनी!

एजेन्सी । अर्को महाव्याधि अमेजनको वर्षावनबाट आउन सक्ने चेतावनी ब्राजिलका पर्यावरणविद् डेभिड लापोलाले दिएका छन् । वन्यजन्तुको वासस्थानमा मानिसले अतिक्रमण गर्दा कोरोनाभाइरस फैलिएजस्तै अमेजनमा तीव्र गतिको वनफँडानीका कारण महाव्याधि आउने सम्भावना रहेको उनको भनाइ छ ।

अनुसन्धाताहरूले जंगल क्षेत्रलाई शहरीकरण गर्दा पशुबाट मानिसमा सर्ने रोगहरू उत्पन्न हुने बताएका छन् ।

अहिलेको कोरोनाभाइरस पनि चमेरोमा उत्पन्न भएर अर्का प्रजाति हुँदै मानिसमा सरेको हुन सक्ने वैज्ञानिकहरूले विश्वास गरेका छन् ।

लापोला भविष्यमा उष्ण क्षेत्रका जंगलको पारिस्थितिकीय प्रणालीमा मानिसको कस्तो प्रभाव पर्छ भन्ने विषयको अध्ययन गरिरहेका छन् । अमेजन जंगलमा चीनको हुबेई प्रान्तकै जस्तो प्रक्रिया हुने देखिएको उनको मत छ ।

‘अमेजनमा भाइरसको विशाल भण्डार छ,’ उनले एएफपीसँगको अन्तर्वार्तामा भने । ‘हामीले अब अत्याचार गर्नुहुँदैन ।’

संसारको सबभन्दा विशाल वर्षावन डरलाग्दो गतिमा विनाश भइरहेको छ ।

पोहोर साल उग्रदक्षिणपन्थी राष्ट्रपति जाइर बोल्जोनारोको नेतृत्वमा ब्राजिलमा रहेको अमेजनको वनविनाश ८५ प्रतिशतले बढेको छ । दश हजार वर्ग किलोमिटरभन्दा बढीको क्षेत्र वनविनाश गरिएको छ ।

Facebook Comments