राजपुर बमकाण्ड : पूर्वमन्त्री आलमका भाइ महताब पुर्पक्षका लागि जेल चलान

रौतहट । जिल्ला अदालत रौतहटले राजपुर बमकाण्डको आरोपमा थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलमलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश मणिराम न्यौपानेको इजलासले २०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम विस्फोट परी घाइते त्रिलोकप्रताप सिंह र ओशी अख्तर लगायतकालाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी गरी तीनवटा कसूरमा सजाय माग गरिएको थियो । आलममाथि लगाइएका तीन मुद्दामा आइतबार नै थुनछेक बहस थियो ।

तत्काल प्रापत प्रमाणका आधारमा महताब आलम बेकसुर हुन भन्ने नदेखिएको हुनाले मुलकी फौजदारी कार्यविधि संहिता दफा ६७ बमोजिम पुर्पक्षका लागि कारागार पठाउन आदेश भएको हो ।

अदालतको आदेशअनुसार महताब आइतबार नै जिल्ला कारागार रौतहट चलान भएका छन् ।

Facebook Comments