६० वर्ष नाघेका पत्रकारलाई मासिक ४ हजार भत्ता

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले ६० वर्षमाथिका सञ्चारकर्मीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेकाे छ ।

२० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाएका ६० वर्षमाथिका मकवानपुर जिल्लाका पत्रकारलाई ‘पेन्सन’ बापत मासिक नगद ४ हजार रुपैयाँ प्रदान गरिने महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईंले जानकारी दिए ।

उनका अनुसार महासंघको बुधबार बसेको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधि, २०७७ को पास गर्दै आगामी महिनाबाट पेन्सन दिने तयारी गरेको हाे ।

भत्ता दिनका लागि अक्षय कोष स्थापना गरिएको छ । ‘१२ लाख रुपैयाँ अक्षय कोषमा जम्मा भइसकेको छ । हामी सरकारी तथा गैरसकारी क्षेत्रसँग सहकार्य गरेर कोषमा रकम वृद्धि गर्नेछौं,’ अध्यक्ष हुमागाईंले भने,‘अक्षय कोषमा रकम बढेसँगै भत्ता पनि बढ्नेछ ।’

Facebook Comments