यी हुन पैसाको लागि कोरोनाको नक्कली रिपोर्ट दिने स्वास्थ्य संस्थाहरु, मन्त्रालयले थाल्यो कारवाही

Photo : Google

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही निजी प्रयोगशालाहरुमाथि कारवाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।

कोरोना परीक्षणको नक्कली रिपोर्ट दिने गरेको पुस्टि भएपछि त्यस्ता निजी प्रयोगशालाहरु अब कारवाहीमा पर्न लागेका हुन।

ती निजी प्रयोगशालाहरुले स्वाब नै संकलन नगरी कोरोनाको नक्कली रिपोर्ट दिने गरेको, स्वाब संकलनपछि रिपोर्ट हेरफेर गरेर पोजेटिभ रिपोर्ट दिने गरेको र स्वाब संकलनपछि निर्धारित समय भण्डारण गर्नुपर्नेमा त्यसो नगरेको भेटिएको छ।

नेपालबाट हङकङ र युएई पुगेका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालको परीक्षणमा प्रश्न उठेको हो ।

नेपालमा कोरोना परीक्षणको लागि स्वीकृत पाएका केही प्रयोगशालाले गरेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको र विदेशमा पुगेपछि गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

‘नेपाल वायुसेवा निगमका हरेक नियमित उडानमा नेपाल सरकारबाट स्वीकृत प्राप्त प्रयोगशालामा परीक्षण गरेर नेगेटिभ रिपोर्ट साथमा लिएर गएका यात्रुमध्ये केहीको रिपोर्ट पोजेटिभ आएपछि हङकङले नेपालबाट हुने अवतरण २५ नोभेम्बरसम्म स्थगित गरेको छ।’ पत्रमा भनिएको छ।

२ अक्टोबरमा हङकङ गएका ५ तथा १९ अक्टोबरमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको थियो  ।

यस्तै, निगमको काठमाडौं-नारिता नियमित उडानबाट यात्रा गरेका यात्रुको पुनःपरीक्षण गर्दा हरेक उडानमा कम्तिमा २ देखि १० जनाको रिपोर्ट पोजेटिभ आएको पाइएको छ।

कोरोना परीक्षणको गलत रिपोर्ट दिनेमा सिनामंगलस्थित डिकोल्ड ल्याब, कमलपोखरीको सीडीएल ल्याब, सूर्य हेल्थ केयर लाजिम्पाट, बल्खुस्थित स्टार अस्पताल रहेका छन्। मन्त्रालयले यी सबैलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ।

कात्तिक २८ गते यूएई जाने १६५ जनाको रिपोर्ट स्टार, सीडीएल र डिकोल्डको मिलेमतोमा गलत रिपोर्ट दिँदा दुबई पुगेपछि २२ जनाको पोजेटिभ आएको खुलेको थियो।

मन्त्रालयले गलत नियतले रिपोर्ट दिने ल्याबलाई कारबाही गर्न माग गरेको हो।

निजी ल्याबको गलत रिपोर्टका कारण नेपाल एयरलाइन्सले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पीसीआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने निर्णय गरेको थियो।

Facebook Comments