चीनकाे काेराेना खाेप ‘कोरोनाभ्याक’ मध्य चरणको परीक्षणमा सफल

बेइजिङ । चीनले विकसित गरेको कोभिड–१९ विरुद्ध खोपले मध्य–चरणको परीक्षणमा सफल भएको छ। चिनियाँ अनुसन्धानकर्ताहरूका अनुसार उक्त खाेप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ ।

सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७ सय ४४ जनामा गरिएको हो ।

युरोप तथा अमेरिकामा निर्मित खोपहरूको ठूलो स्तरको परीक्षणका आधारमा ती खोपहरू सफल रहेका समाचार आइरहेका बेला चिनियाँ अनुसन्धानकर्ताहरूको घोषणा सार्वजनिक भएको हो । अमेरिका, जर्मनी र रुसमा विकास गरिएका तीनवटा खोपहरूको परीक्षणका तथ्यांकहरूका आधारमा ती खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको बताइएको छ ।

अमेरिका तथा युरोपेली देश जस्तै चीन पनि कोभिडविरुद्धको खोप बनाउने दौडमा क्रियाशील छ । यसक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका जनाइएको छ । तीमध्ये सिनोभ्याक बायोटेक खोप एक हो ।

Facebook Comments