लकडाउन खोल्न हतार गरे काेराेनाले थप क्षति हुने चेतावनी

एजेन्सी । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा।एन्थोनी फाउचीले लकडाउन खोल्नेबारे सिनेटरहरुलाई चेतावनी दिएका छन् । उनले देशमा लकडाउन खोल्न हतार गरिएमा संक्रमण तीव्र रुपमा फैलिने उनको चेतावनी छ ।

उनले लकडाउन खोल्नका लागि यसअघि घोषणा गरिएका विभिन्न योजनाहरुको पालना नगर्ने हो भने लाखौं अमेरिकी संक्रमणको चपेटामा आउनसक्ने बताए ।

उनले अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको आधिकारिक संख्या ८२ हजार नाघेको जानकारी दिए । डा।फाउचीको राय राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्दा अलग रहेको छ ।

राष्ट्रपति ट्रम्प अर्थव्यवस्थालाई पुनः पुरानै गतिमा फर्काउनका लागि तत्काल लकडाउन खोल्ने पक्षमा छन् । जसका लागि उनले यसअघि नै लकडाउन खोल्ने गाइडलाइन सार्वजनिक गरेका थिए ।

फाउचीले मंगलबार सिनेटलाई भिडियो कन्फ्रेन्समार्फत संबोधन गरेका हुन् । अमेरिकाका केही प्रान्तमा लकडाउन खुकुलो पारिएको छ । ती प्रान्तमा संक्रमण दर बढिरहेको छ ।

डा।फाउचीले सामाजिक दुरी कायम गर्न नसकिएमा संक्रमण संम्हाल्न नसकिने गरी फैलिनसक्ने चेतावनी दिएका छन् । यस्तो अवस्थामा अर्थव्यवस्थामा धक्का लाग्नुका साथै थप मानिसको ज्यान जानसक्ने उनको भनाई छ ।

उनले आगामी सेप्टेम्बरमा कोरोना भाइरसको दोस्रो लहर देखिनसक्ने पनि बताए । उनले भने, ‘कोरोना संक्रमणको दोस्रो चरणको खतरा पनि छ । त्यसले अत्यन्तै प्रभावी ढंगले यसबाट बचाउनेबारेमा सोच्नुपर्नेछ ।’

डा।फाउचीले कोरोना विरुद्धको खोप निर्माणका लागि कोशिस भइरहेपनि कति समयपछि बन्छ भन्ने ग्यारेन्टी नभएको बताए ।

Facebook Comments