कोरोना महामारी: १७ नेपाली कैदीलाई कतारले दियो आममाफी

काठमाडौँ । कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै कतार सरकारले जेलमा रहेका १७ जना नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारका राजा अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी उनीहरुलाई आममाफी दिएको बताए।

विभिन्न कसुरमा कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरुलाई आममाफी दिइ रिहाई गर्न लागिएको दोहास्थित नेपाली राजदूतावासले जनाएको छ ।

आममाफी पाएर रिहाइ हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा सजाय भुक्तान गरिरहेका नेपालीहरु रहेको दूतावासले जनाएको छ।

मलेसियामा जारी ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा

क्वालालम्पुर। मलेसियामा रहेका नेपाली भने समस्यामा परेका छन् । विश्वमा कोरोना भाइरस कोभिड १९ को महामारीका चलिरहेका बेला त्यसकाे नियन्त्रण गर्न मलेसियन सरकारले जारी गरेको ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ले नेपाली समस्यामा परेका हुन् । समितिले शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै मलेसियाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरेसँगै नेपाली श्रमिकहरु समस्यमा परेको जनाएको हो ।

भिसा सकिएर स्वदेश फर्कन अन्तिम तयारीमा रहेका नेपालीहरुलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको नेपाली मजदुर एकता समाज मलेसिया समितिले जनाएको छ। विज्ञप्तिमा ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ (एमसिओ) लागु भएपछि भिसा सकिएर अलपत्र अवस्थामा परेका नेपालीहरूलाई मलेसियन प्रहरीले अवैधानिक भन्दै पक्राउ गरेको र गर्दै आइरहेको जानकारी प्राप्त भएको उल्लेख छ।

विभिन्न कम्पनीहरुले कामदारलार्इ खानको लागि न्युनतम खर्चसमेत उपलब्ध नगराएको र कोरोना कोष भन्दै यो संवेदनशील घडीमा जोखिम मोलेर डिउटी गरिरहेका नेपालीहरूको पैसा कटौती गरेको गुनासो पनि आइरहेको समितिले जनाएको छ ।

समस्यामा परेका नेपालीहरूलाई उचित न्याय दिलाउन र भिसा सकिएर अलपत्र परेका अवस्थामा रहेका नेपालीहरुलाई सकेसम्म चाँडै व्यवस्थापन र स्वदेश फर्कने वातावरण मिलाउनको निम्ति नेपाली राजदूतावास क्वालालम्पुरलाई मलेसियाको समितिले ध्यानाकर्षण समेत गराएको छ । मलेसियामा पूरै लकडाउन छैन । हिँडडुलमा कडाइ गरिएको छ । कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि चौथो पटक ‘मुभमेन्ट कन्ट्रोल अर्डर’ जारी गरिएको छ । यो मे १२ सम्म लागू हुनेछ ।

अब चट्याङ पर्ने क्षेत्र र समयको पनि पूर्वानुमान हुने

काठमाडाैँ। ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब मौसम (वर्षा)को जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ ।

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आगामी वर्षातदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी तयारी भइरहेको जानकारी दिए । विभागले हाल वर्षा, हावाहुरी, बाढी तथा पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ । समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने भएकाले त्यसका लागि काम भइरहेको मन्त्री पुनले बताए ।

‘चट्याङबाट हरेक वर्ष १ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ’, सम्बद्ध पक्षसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने, ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ ।’

मन्त्री पुनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए ।

सिंचाई मन्त्रालयका सचिव रवीन्द्रकुमार श्रेष्ठले कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि गरिएको लकडाउनका कारण चट्याङको समय र स्थानबारे पूर्वानुमान गर्ने कार्य केही समय पछि धकेलिए पनि यसै वर्ष भित्र काम सक्ने प्रयास भइरहेको बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए । ‘अरु देशहरुमा यो प्रविधि अहिले पनि छ’, उनले भने, ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौं ।’

उनले नेपालको चुरे रेन्ज (श्रृङ्खला) चट्याङको बढी जोमिमा रहेको उल्लेख गरे । मंगलबार मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा सचिव दिनेशकुमार घिमिरे, सिंचाई सचिव श्रेष्ठ, मौसम विभागका उपमहानिर्देशक कर्माचार्य, सिंचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी र गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिककरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अनिल पोखरेल र गृह मन्त्रालयका उप–सचिव गणेशविक्रम शाही सहभागी थिए ।

‘अब पास लिएका गाडीसमेत उपत्यका प्रवेश गर्न नपाउने’

काठमाडौं । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न ।

नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्को कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा ध्यान पुर्‍याउनुहोला ?

दैनिक उपभोग्य सामग्री र स्वास्थ्य उपचारसम्बन्धी जोडिएका सवारीबाहेक अब उपत्यकामा ‘नो इन्ट्री’ गरिएको छ । यसअघि पास बनाएपछि निर्वाधरुपमा सवारी भित्रने गरेको थियो । अब भने पासबाहक गाडीलाई समेत धमाधम फर्काउन थालिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले पास भएकालाई पनि अब अत्यावश्यकबाहेक प्रवेश रोकिएको बताए । ‘दैनिक उपभोग्य सामग्रीसँग र स्वास्थ्य उपचारसँग जोडिएका सवारी आउन पाउँछन्, त्यसबाहेक पास लिएर आए पनि सवारी भित्रिन पूर्ण निषेध छ ।’

विभिन्न नाकाबाट अहिले उपत्यका एक हजार ५०० हाराहारीमा सवारी भित्रिने गरेका छन् । त्यसमा झण्डै ४०० सवारी पास बोकेर विभिन्न काममा आउने गरेको प्रहरीको अभिलेख छ ।

दैनिक उपभोग्य सामग्री ल्याउने सवारीसमेत बढेको छ । ती गाडीमा चालक सहचालक गरी दुईदेखि तीनजना आउने गरेका छन् । त्यसरी हेर्दा झण्डै चार हजार हाराहारीमा मानिस दैनिक उपत्यका भित्रिने गरेका छन् ।

अत्यावश्यक सावारीमा आएकाहरु सामान अनलोड गरेर बाहिरिने भए पनि अन्य व्यक्तिहरु बाहिरिने गर्दैनन् । त्यसैले पनि कडाइ गरिएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको जोखिम रहेको वर्तमान समयमा अत्यावश्यक कामबाहेक बाहिर निस्कने अवस्था अहिले होइन ।

घरमै बस्ने, सामाजिक दूरी कायम गर्ने र मिचिमिची साबुन पानीले हात धुने गर्नुपर्छ । तर, बजारमा धेरै मानिस बहानाबाजी गरेर, पासको दुरुपयोग गरेर हुन्छ या त झुटा विवरण पेश गरेर पास लिने र निस्कने अवस्था छ । त्यसलाई रोक्न प्रहरीले पासमा कडाइ गरेको हो ।

अनावश्यकरुपमा पास लिएर एक जिल्लाबाट अर्का जिल्ला र एक प्रदेशबाट अर्को प्रदेशमा आवतजावत बढ्न थालेसँगै संघीय राजधानी काठमाडौंमा पनि बाहिरी जिल्लाबाट गाडीको चाप बढ्न थालेको प्रहरीको निष्कर्ष छ ।

जिल्ला जिल्लामा पास बढी बाँड्दा पनि समस्या देखिएको छ । त्यसैले उपत्यका प्रहरी त्यस्ता गाडी रोक्न बाध्य भएको हो ।

नागढुङ्गाको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठ बहाना बनाएर पास लिएर आएका गाडीलाई उपत्यकामा प्रवेश रोकिसकेको बताए ।

‘आजमात्रै हामीले ८० वटा गाडी नागढुङ्गा नाकाबाट फर्काइसक्यौँ, यो क्रम जारी छ’, श्रेष्ठले भने । उनीहरुले बकाइदाले जिल्लाबाट पास ल्याएका छन् ।

वास्तविक समस्या के हो ? भनेर सोध्दा, यही हो भनेर प्रष्ट बताउन नसक्नेलाई फर्काइएको छ । बिरामी, काजकिरियामा हिँडेका, अत्यावश्यक काम र पेशा व्यवसायका व्यक्ति सवार गाडी मात्रै पठाउने गरिएको उनले बताए ।

गृह मन्त्रालयले केही दिनअघि आवागमनमा कडाइ गर्न निर्देशन दिएसँगै अहिले उपत्यकालगायत समग्र मुलुकभरको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनलगायत केही जिल्लाले बाहिर जानका लागि पास नदिने निर्णय गरेर सार्वजनिक सूचना जारी गरिसकेको छ । कोरोनाको सङ्क्रमण जोखिमलाई रोक्न यस्तो निर्णय गरिएको जनाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल उपत्यकाको सीमा नाकामा थप कडाइ थालिएको र सुरक्षात्मक उपायसमेत अपनाउन थालिएको बताए । उनले वैशाख २५ पछि पनि आवागमनलाई रोक्नै पर्ने आवश्यकता रहेको औँल्याए ।

कोभिड–१९ को सङ्क्रमण रोक्न मुलुकमा जारी गरिएको बन्दाबन्दी ९लकडाउन० को अवधि लम्बिँदै जाँदा काठमाडौं उपत्यकामा मानिसको प्रवेश बढ्ने अवस्था देखिएको निष्कर्षका साथ प्रहरीले नाका कडाइ थालेको हो ।

काठमाडौं उपत्यका प्रवेश गर्ने मुड्खु, जगाती, फर्किङ र जर्सिङपौवा नाका मुख्य छ । वर्तमान अवस्थामा अझै पनि उपत्यका आवागमनलाई खुला गर्न नहुने सुरक्षा अधिकारीको समेत निष्कर्ष छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले राजधानीलाई सुरक्षित बनाउन सबैखालको सुरक्षा अपनाएर प्रहरी परिचालन गरिएको बताए ।

उनका अनुसार बाहिरी जिल्लाबाट पास पाएका गाडीसमेत बढ्न थालेकाले उपत्यकामा सवारी चाप बढेको अनुभव भएको बताउँदै जिल्लाबाटै पास रोक्नुपर्छ ।

लकडाउन थप गर्न उच्चस्तरीय समितिको सिफारिस

काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन थप गर्न सिफारिस गरेको छ ।

समितिको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जारी लकडाउनलाई यही रुपमा थप्न सरकारलाई सिफारिस गरेको हो ।

संक्रमणको जोखिम अझै नसकिएको र नियन्त्रणका लागि सरकारले लिएको लकडाउनको नीति ठीक भएको निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित बसेको बैठकले अत्यावश्यक सेवा संचालन गर्ने गरी लकडाउन थप गर्नु पर्ने सुझाव दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले भने–‘लकडाउन जस्तो छ त्यही रुपमा थपिन्छ । केकति दिन थप्ने भन्ने र अरु कुराहरु भोली बस्ने मन्त्रिपरिषद् बैठकले टुंगो लगाउँछ ।’

यसको विषयमा मन्त्रिपरिषद्ले निर्णय गर्नेछ । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि पर्सिबाट सकिंदै छ ।

‘परीक्षण नबढाए लकडाउनको अर्थ छैन’

काठमाडौँ । भारतले लकडाउनको अवधि १५ दिन थपेसँगै नेपालमा पनि अहिलेकै जसरी लकडाउन थपिने वा स्वरूप परिवर्तन गरेर थप्ने भन्ने प्रश्न उब्जिएको छ ।

ह्याम्स अस्पतालमा कार्यरत डाक्टर किरण पाण्डे, संक्रामक रोग विशेषज्ञ अनुप सुवेदी, डाक्टर भगवान कोइराला तथा गणितज्ञ विशेष खनालले जारी महामारी र लकडाउनका सम्बन्धमा केन्द्रित रहेर अनुसन्धान प्रतिवेदन (प्रि–प्रिन्ट) तयार पारेका छन् ।

‘हामीले गरेको अंकगणितीय जोड–घटाउलाई मान्ने हो भने अरू केही कार्य नगरी एक महिना लकडाउन गर्ने हो भने अस्पतालहरूमा आउने चापलाई ३६ दिन पर धकेल्न सकिने रहेछ,’ जर्नल सहलेखन गरेका डा. सुवेदीले भने, ‘यस्तै दुई महिना लकडाउन गर्ने हो भने ७४ दिन पछि धकेल्न सकिने रहेछ । तर वार्षिक रूपमा हिसाब गर्दा मृत्यु हुनेको संख्यामा कुनै कमी आउने देखिँदैन ।’

उनका अनुसार लकडाउनका साथै सो समयमा भेटिएका संक्रमितको समुचित ढंगले कन्ट्रयाक ट्रेसिङ तथा धेरैभन्दा धेरै परीक्षण गर्न सकियो भनेचाहिँ त्यसले दीर्घकालीन रूपमै धेरै फरक पार्छ । ‘हामीकहाँ अहिले लकडाउनको अवधिलाई सदुपयोग गरेर जुन रूपमा परीक्षणहरू हुनुपथ्र्यो, त्यो भएको छैन । त्यसैले लकडाउन मात्रैले हामीलाई धेरै फाइदा गर्नेवाला छैन,’ उनले भने, ‘यसरी लकडाउन मात्रै गर्ने र परीक्षणमा जोड नदिने हो भने त सबै खोलिदिए हुन्छ ।’

उनको भनाइमा अब संक्रमण नदेखिएका स्थानहरूमा आंशिक लकडाउन मात्रै गरे पनि पुग्छ । तर सामाजिक दूरी भने वर्ष दिनसम्म नै कायम राख्न निकै जरुरी देखिन्छ । ‘लकडाउन मात्रै गर्दा धेरै स्थानमा असर पर्ने देखिएको छ । अब सबैतिर लकडाउन नगरेर संक्रमण भएको स्थानलाई मात्र पूर्ण लकडाउनमा राख्दा उचित हुन्छ,’ उनले भने, ‘अहिले पनि समय छ, सबैतिर लकडाउन भएको अवस्थामा सम्भावित तथा विदेशबाट आएका सबैको परीक्षण गरेर निर्क्यौल गरे अझ राम्रो हुन्छ ।’

जर्नलका मुख्य लेखक डा. किरण पाण्डेका अनुसार नेपालले लकडाउनलाई ठाउँविशेषका आधारमा खुकुलो पार्दै परीक्षण, ट्रेसिङ, क्वारेन्टाइनको दायरालाई भने तीन गुणा बढाउन आवश्यक देखिन्छ । उनले भियतनामको उदाहरण दिँदै भने, ‘त्यहाँ हामीकहाँभन्दा धेरै संक्रमित देखिए तर त्यो नियन्त्रणभन्दा बाहिर गएको छैन किनभने उनीहरूले ट्रेसिङ, परीक्षण र क्वारेन्टाइनलाई राम्रोसँग लागू गरे । हामीले अफ्रिकाको घानालाई पनि उदाहरणका रूपमा लिन सक्छौं । त्यहाँ पनि परीक्षणलगायतका कार्य राम्रोसँग भइरहेका छन् ।’

उनले भौगोलिकताका आधारमा केही स्थानहरूमा लकडाउन खुकुलो पारेर जीविकोपार्जनका माध्यम सुचारु गर्न ठीक हुने तर्क राखे । ‘काठमाडौं नै खोल्ने हो भने पनि पहिलो प्राथमिकता मार्जिनलाइज समूहको रोजीरोटीमा असर पर्ने सेवाहरू खोलेर गर्न सकिन्छ,’ उनले भने, ‘तर धेरै मानिस भीड हुने सबै क्षेत्र बन्द गर्नुपर्छ । जस्तै– मन्दिर, पार्क, होटल, सिनेमा घर । त्यस्तै परीक्षण गर्दा कसैलाई देखिए, त्यो क्षेत्रको घेरा तोकेर बन्द गर्दा बढी सहज हुन्छ । यहाँ त्यो मोडल परीक्षण गरेर सफल भए अन्यत्र लागू गरे पनि हुन्छ ।’

उनका अनुसार अब खेतीपातीलगायत मानिसको जीविकोपार्जनसँग जोडिएका विषयमा भने केही खुकुलोपन ल्याउने बेला भइसकेको छ । यस्तै अर्को प्रि–प्रिन्टमा प्रकाशित लेखका अनुसार बिनाकुनै पूर्वतयारी लकडाउन पूर्ण रूपमा खुकुलो बनाउँदा संक्रमित हुनेको संख्यामा ह्वात्तै बढोत्तरी हुने सम्भावना धेरै हुन्छ । यस्तै लकडाउन खुला गर्नुपूर्व संक्रमण फैलन सक्ने सम्भावित स्थानहरूको पहिचान गरी त्यसको निर्मलीकरणको व्यवस्था गरेमा पनि संक्रमणको दरलाई नियन्त्रणबाहिर जान रोक्न सकिन्छ ।

यस्तै बेलायतमा लकडाउनले सकारात्मक पारेको प्रभावबारे प्रकाशित गरिएको अर्को एक अनुसन्धानात्मक लेखमा भने लकडाउनलाई अब कसरी खुकुलो पार्दै लैजाने भन्ने योजना बनाउनुपर्नेमा जोड दिइएको छ । लेखमा भनिएको छ, लकडाउनले जति राम्रो काम गर्नुपर्ने, त्यो गरिसकेको र अब अर्थतन्त्रलाई जोगाउनका लागि लकडाउन खुकुलो पार्ने योजनामा सोच्ने बेला भएको छ ।

अर्को प्रि–प्रिन्ट पेपरले भने लकडाउन खुला गरे पनि संक्रमणको दरलाई नियन्त्रणमा राख्न घरबाट बाहिर निस्कने व्यक्तिले सामाजिक दूरीका साथै मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । यस्तै बेलायती अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको अर्को लेखमा भने एकैपटक लकडाउन खुकुलो बनाउनुभन्दा दिनमा २ देखि ४ घण्टाका लागि लकडाउन केही स्थानमा खुकुलो बनाउँदै लगेर त्यसको परिणामको विश्लेषण गर्नुपर्ने तर्क अघि सारेका छन् । कान्तिपुर दैनिकबाट

काेराेनाकाे कहर: संक्रमितको विवरण नखुल्दा कन्ट्याक्ट ट्रेसिङमा समस्या

नेपालगन्ज । नेपालगन्जमा कोभिड–१९ संक्रमण फैलिन नदिन र संक्रमित व्यक्तिसँग सम्पर्क/भेटघाट भएका व्यक्तिको खोजीलाई सहज बनाउन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासनमा सोमबार भएको सर्वदलीय र सर्वपक्षीय बैठकको सुझावपछि मंगलबार ११ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

आइतबार एकै दिन १५ जनामा संक्रमण पुष्टि भएपछि कति जनाको पीसीआर परीक्षण गर्ने भन्ने अन्योल बढेपछि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । ‘निषेधाज्ञाले कन्ट्याक्ट ट्रेसिङ सजिलो हुन सक्छ,’ उनले भने ।
धेरै जनामा संक्रमण देखिएपछि लकडाउन कडा हुने अनुमानमा सोमबार बिहान बजारमा किनमेल गर्नेको भीड लागेको थियो । सर्वसाधारणले सामाजिक दूरीसमेत कायम गरेका थिएनन् । निषेधाज्ञा जारी भएपछि सर्वसाधारणले घरबाहिर निस्कन पाउने छैनन् । अत्यावश्यकबाहेक गाडी गुड्न दिइने छैन । नेपालगन्जका चार स्थान यसअघि नै सिल गरिएका छन् ।

विवरण नखुल्दा समस्या
नेपालगन्ज–५ का एक वृद्धमा शुक्रबार संक्रमण पुष्टि भएको थियो । उनीसँग सम्पर्क भएकाहरूको परीक्षण गर्दा आइतबार नेपालगन्ज–८ मा १४ जना र नेपालगन्ज–५, डीएसपी रोडका एक जना गरी १५ जनामा संक्रमण देखिएको थियो । शनिबार स्थानीय ९० जनाको स्वाब संकलन गरिएकामा केही नमुनाको परीक्षण सोमबार साँझसम्म भेरी अस्पतालको प्रयोगशालामा भइरहेको छ ।

लक्षणबिनै समुदायमा संक्रमण फैलिएपछि सम्भावित संक्रमित पत्ता लगाउन र संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण बनेको छ । संक्रमित व्यक्तिले आउजाउ गरेका क्षेत्र र उनीहरूको सम्पर्कमा आएका व्यक्तिबारे सही विवरण नखुल्दा संक्रमण कहाँ सुरु भएर कहाँ पुग्यो भन्ने यकिन गर्न चिकित्सकलाई समस्या भएको छ ।

‘कोभिड–१९ नियन्त्रणका लागि संक्रमित व्यक्तिले कहिले कहाँ–कहाँ आउजाउ गरेका थिए, त्यसको सही विवरण चाहिन्छ,’ भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले भने, ‘संक्रमितले भेटेका व्यक्तिबारे सही सूचना दिनुपर्छ नत्र संक्रमण समाजमा झन् भयावह रूपमा फैलिन सक्छ ।’

डा. पाण्डेले संक्रमित व्यक्ति एउटै क्षेत्रका भएकाले उनीहरुले आउजाउ गरेको विवरण उपलब्ध गराए नियन्त्रण सम्भव हुने बताए । संक्रमण एक व्यक्तिबाट समुदायमा सर्न थालेपछि नियन्त्रण बाहिर पनि जान सक्ने उनको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले नेपालगन्जमा देखिएको संक्रमणलाई अध्ययन गरी कदम चाल्न आवश्यक छ,’ उनले भने ।

गत शुक्रबार संक्रमित एक जनाको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा ९० जनाको स्वाब संकलन गर्नुपरेको थियो । ‘अहिले १५ जनाको सम्पर्कमा आएका व्यक्तिहरूको कन्टयाक्ट ट्रेसिङ गरिरहेका छौं,’ जनस्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले भने, ‘३ सय जनाको ट्रेसिङ गर्नुपर्ने अड्कल गरेका थियौं । यो संख्या अझै बढ्न सक्छ ।’

श्रेष्ठका अनुसार संक्रमित १४ जनाको बसोबास रहेको नेपालगन्ज–८ को जनसंख्या ४ हजार १ सय छ । आइतबार पत्ता लागेका अर्का एक जना संक्रमितको घर भएको वडा नं ५ मा जनसंख्या ४ हजार ८ सय ६ सय रहेको छ ।

खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसनमा रहेका १६ संक्रमितसँग कहिले कहाँ आउजाउ गरेको र कोसँग सम्पर्कमा रहेको भन्ने विषयमा जानकारी लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरू तीन सय जनाभन्दा बढीको सम्पर्कमा आएको खुलेको छ । ट्रेसिङ सकिएपछि संक्रमितसित सुरुमा भेट भएका व्यक्तिको स्वाब संकलन गरिनेछ । शुक्रबार पुष्टि भएका संक्रमित वृद्ध एक महिनासम्म नेपालगन्ज–८, जोलहनपुरा टोलमा घुलमिल भएकाले सबै स्थानीयको स्वाब संकलन गर्नुपर्ने अवस्था आउन सक्ने स्वास्थ्यकर्मीले बताए । संक्रमण पुष्टि भएका नेपालगन्ज–८, महेन्द्र पार्कका तीन जना एकै परिवारका हुन् । नेपालगन्ज–८ का बासिन्दा तथा पूर्वउपमेयर समसुद्दिन सिद्दिकीले परीक्षणको दायरा बढाउनुपर्ने बताए । कान्तिपुर दैनिकबाट

‘लकडाउन’ काे मोडालिटी बनाउने जिम्मा तीन मन्त्रालयलाई

काठमाडौं । सरकारले गत चैत ११ यता जारी लकडाउन ठाँउ विशेषलाई आधार बनाएर केही लचिलो बनाउने संकेत गरेको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले लकडाउनले पारेको आर्थिक प्रभाव र कोरोनाको सम्भावित अवस्थालाई मध्यनजर गर्दै नयाँ मोडालिटीका विषयमा छलफल गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले दिए।

छलफल जारी रहेको र मंगलबार पुनः छलफल गरी अबको लकडाउनको मोडालिटीको स्वरुपको मस्यौदा तयार पार्ने र त्यसलाई मन्त्रिपरिषद् बैठकमा लगेर निर्णयमा पुगिने विडारीले बताए। ‘कोरोना संक्रमणको परीक्षण उल्लेख्य मात्रामा भइरहेको छ। यद्यपी, तराईका केही क्षेत्रमा संक्रमितको संख्या बढेको छ। लकडाउनपछिको आर्थिक अवस्थालाई पनि हेर्ने र रोगलाई पनि कावुमा राख्न के गर्ने भन्नेमा समीक्षात्मक बैठक जारी छ’, विडारीले भने, ‘अहिलेसम्म गरेको प्रयास सही दिशामा छन्। अझै पनि दुई दिन प्रदेश र स्थानीय तह, सुरक्षा निकायबाट पनि रिपोर्ट लिने र कसरी जाने भन्नेमा वर्कआउट गरी एउटा मस्यौदा तयार पार्ने अभ्यास जारी छ।’

लकडाउनको अवधि २५ वैशाखसम्म छ। सरकारले अब लकडाउनको मोडालिटीमा परिवर्तन गर्दै ग्रीन जोन, रेड जोन, एल्लो जाने गरी तीन समूहमा देशका भूभागलाई विभाजन गर्ने र क्रमशः लकडाउन खुकुलो पार्दै जाने गरी समीक्षात्मक बैठकमा छलफल भइरहेको समितिमा रहेका एक मन्त्रीले बताए। उनका अनुसार, गृह, अर्थ र स्वास्थ्य मन्त्रालयलाई समन्वय गरी मोडालिटी के-कस्तो बनाउने भन्नेमा खाका तयार पार्ने जिम्मा सोमबारको बैठकले दिएको छ। बैठक पुनः मंगलबार बस्ने र त्यसमा तीन मन्त्रालयको सुझावबारे उच्चस्तरीय समितिमा छलफल हुनेछ।

सोमबारको समिति छलफल काठमाडौंमा भने जनसंख्या ठूलो रहेको, परीक्षण कम देखिएकोले तत्काल खोलेर जान नहुनेमा मन्त्रीहरुले छलफल गरेका छन्। अहिलेसम्मका प्रयास काठमाडौंसहितका देशभरमै सन्तोषजनक देखिए पनि काठमाडौंमा तत्काल नखोल्ने तर अन्य स्थानमा भने त्यहाँको अवस्थालाई हेरेर केही खुकुलो बनाएर जान सकिनेमा समिति बैठकमा छलफल भएको थियो। अन्नपुर्ण पाेष्टबाट

दुई महिनाअघिको मासु फेला परेपछि पसलमा छापा

डोल्पा । डोल्पाको एक मासु पसलमा जिल्ला प्रशासन कार्यालयले छापा हानेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनार आफैले मासु पसलमा छापा मारेर महिनौं दिन पहिलाको बोइलर कुखुराको मासु नष्ट गरेका छन्। ठुलीभेरी नगरपालिका-३ पर्ने जिल्ला सदरमुकाम दुनैको बजारमा मासु बेच्दै आएका पिन्टु गुप्ताको पसलमा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले अनुगमन गरि मासुको फ्रिज सिल गरेका हुन्।

चैत्रको पहिलो साता नेपालगञ्जबाट जहाजमा ल्याएको बोइलर कुखुराको मासु फ्रिजमा राखेर लुकाई छिपाइ बिक्रि गरेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली लगेर मासु पसल शिल गरेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए। प्रजिअ सुनारका अनुसार पिन्टु गुप्ता भागेको तर उनको मासु बिक्रि गर्ने अुनमतिपत्र खारेज गरि कनुनी कारवाही गरिने बताए। उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेकोले हदैसम्मको कारवाही हुनुका साथै उनको किराना पसलबाट अरु खाद्य तथा पेय पदार्थहरु पनि म्याद गुज्रिएका भेटिएकोले बरामत गरि नष्ट गर्नुका साथै कारवाही गर्ने जानकारी दिए। दुनै बजारमा मासुको अभाव भएको बेलामा झण्डै दुई महिना पहिलाको बोइलर बेचेपछि पिन्टु गुप्ता प्रशासनको छड्के अनुगमनमा परेका हुन्। उनले बर्षौंदेखि म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बिक्रि गर्ने गरेको र मासु पनि भेरीमा हालेको बिक्रि गर्ने गरेको उपभोक्ताको आरोप रहेको छ।

लकडाउनको बेलमा गलत नियतले स्वास्थ्यमा खेलावड गरेकोले कारवाही गरिने उनको मासु बिक्री गर्ने अनुमति पत्र खारेज गरिने पशु सेवा कार्यालयका प्रमुख चन्द्रलाल धरालाले जानकारी दिए। बारम्बार नियम विपरित नगर भनेर सुझाव दिए पनि नमानेकाले कारवाहीको भागी उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढाले बताए। यसभन्दा पहिला अनुगमन गरेपनि प्रमुख जिल्ला अधिकारी आफै बजार गएर पसल सिल गरेको यो पहिलो घटना हो। प्रमुख जिल्ला अधिकारीले अनुगमन गरेर मासु पसल सिल गरेसँगै बजराका अन्य पसलेहरु समेत त्रसित भएका छन्। अन्नपुर्ण पाेष्टबाट

संक्रमितको खोजी तीव्र, संघ र प्रदेशबाट ३ टोली परिचालित

काठमाडौं । एउटै टोलमा संक्रमितको संख्या अत्यधिक देखिएपछि बाँकेको नेपालगन्जमा पोलिमरेज चेन रियाक्सन (पीसीआर)परीक्षणको दायरालाई विस्तार गरिएको छ। अन्य सम्भावित संक्रमितको खोजी कार्यलाई तीव्रता दिइएको छ।

संक्रमितको खोजीका साथै ट्राभल हिस्ट्री लिनका लागि सहयोेग गर्न संघबाट दुई जनाको टोली परिचालन भएको छ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार सम्भावित संक्रमितको ट्रेसिङ र ट्राभल हिस्ट्रीलगायतमा संलग्न हुने गरी संघबाट दुई वटा टोली नेपालगन्ज गएको छ। उक्त टोली संक्रमण देखिएको स्थानीय बासिन्दाको घर-घरमा खटिएको छ।

सीमावर्ती सहर नेपालगन्जमा हालसम्म १६ जना संक्रमित फेला परेका छन्। उनीहरूबाट अन्यमा पनि सरेको विज्ञहरूको आशंका छ। रोग निन्त्रण महाशाखाबाट हेमन्त ओझा, प्रदीप रिमालसहितको टोली परिचालन भएको छ। त्यस्तै, मन्त्रालयबाट यदुचन्द्र घिमिरेको नेतृत्वमा एउटा टोली खटिएको छ। प्रदेश ५ बाट पनि टोली परिचालन भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार संक्रमितमध्ये १५ जना एउटै टोलका भएकाले संक्रमण अन्यमा पनि भएको आशंका छ। उनले भने, ‘एउटै टोलमा धेरै संख्या देखिएको र आवतजावत गरेको पाइएकाले अलि जोखिमयुक्त मानिएको छ।’

नेपालगन्ज उपमहानगरपालिका भित्रको जोलहानपुर्वाका बासिन्दामा बढी संक्रमण पाइएको हो। संक्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको परीक्षण हुने क्रममा रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मुलुकभर २१ हजार ५ सय २३ जना क्वारेन्टाइनमा बसेका छन। जसमध्ये प्रदेश नं ५ मा झन्डै आधा व्यक्ति क्वारेन्टाइनमा बसेका छन्। प्रवक्ता डा. देवकोटाका अनुसार यस प्रदेशमा ९ हजार ९ सय ५३ जना विभिन्न क्वारेन्टाइनमा बसिरहेका छन्।

संक्रमित कहाँ/कति ?

मुलुकभर हालसम्म संक्रमितको संख्या ७५ छ। संक्रमितमध्ये पुरुष ५८ र महिला १७ जना छन्।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, २ मा १३ र बागमती प्रदेशमा ७ जना छन्।

त्यस्तै, गण्डकी प्रदेशमा २ र ५ मा १७ र सुदूरपश्चिममा ५ जना संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशमा हालसम्म संक्रमित फेला परेका छैनन्। जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्। उपचाररत संक्रमितको संख्या ५९ छ। विराटनगरमा ३१, नेपालगन्जमा १६, वीरगन्जमा ९, धनगढीमा १, भरतपुरमा १ र रुपन्देहीमा १ जना छन्। सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको प्रवक्ता डा . देवकोटाले जानकारी दिए। आइसोलेसनमा बसिरहेका सम्भावित संक्रमितको संख्या १ सय ६ जना रहेको छ। अन्नपुर्ण पाेष्टबाट