लकडाउनले सुनसान सडकमा सिंहका बथानको मस्ती

काठमाडौं –  कोरोना भाइरसको संक्रमणबाट जोगाउन भन्दै कयौँ मुलुकहरुले लकडाउन गरेका छन् । लकडाउनका कारण मानिसहरु घरभित्रै छन् । जीवनस्तर सामान्य नहुँदा बाहिरी क्षेत्र सुनसान छ ।
सडकमा गाडी गुडेका छैनन् भने मानिसहरुको आवातजावत अत्यावश्यक काममा बाहेक पूर्णरुपमा बन्द नै छ । यस्तो बेला सुनसान रहेका दक्षिण अफ्रिकाका सकडकमा भने सिंहका बथानकै राज भएको छ ।क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरू लकडाउनको बेला बीच सडकमै मस्त सुतिरहेका तस्वीर भाइरल भएका छन् ।निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू मस्तसँग सुतेको  देखेपछि उनले खिचेका केही तस्वीरहरु अहिले भाइरल बनिरहेका छन् ।निकुञ्जका सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुने सडकमा अहिले सिंहहरू बीच सडकमै मस्त सुतिरहेका छन् ।अरु बेला सडकमै सिंह सुतेको दृश्य रातको समयमा मात्र देख्ने गरिएकोमा अहिले भने दिउँसै देखिएको छ ।

विप्लव नेकपाका केन्द्रीय सदस्य शर्मा पक्राउ

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य अनिल शर्मा (बिरही) पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले उनलाई चितवनबाट पक्राउ गरेको हो।

उनी अस्पतालमा पुगेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अस्पतालमै छन् । शर्मा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन् । चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गरे । यद्यपि उनले नाम खुलाएनन् ।

अनिल शर्मा विरहीले पार्टीमा इमान्दार नेताको रुपमा पहिचान बनाएका थिए। उनलाई पार्टीमा लेख‚ रचना‚ कविता लेख्ने सृजनशील नेताको रुपमा लिइन्छ। उनी यसअघि पार्टी पोलिटब्यूरो सदस्य र पूर्वी कमाण्ड इन्चार्जको जिम्मेवारीमा थिए।

२०६९ सालमा मोहन वैद्य किरणले पार्टी फुटाएपछि विप्लवसँगै गएका थिए। लगतै विप्लवले पार्टी अलग गराएपछि विप्लव नेतृत्वको पार्टीमा पोलिटब्यूरोको जिम्मेवारीमा थिए। सरकारले विप्लव नेकपालाई प्रतिबन्ध लगाएपछि सो पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गर्दै आएको छ।

एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जना पक्राउ

धनगढी । कैलाली प्रहरीले बैंकको एटीएम बुथ फुटाएर पैसा चोरी गर्न खोज्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको थलारा गाउँपालिका वडा नम्बर १ मालुमेला घर भइ कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैना बस्दै आएका २२ वर्षीय सुनिल खड्का छन् । एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड भएको हाे ।

बुथमा रहेको सीसीटीभी क्यामेराले क्याप्चर गरेको फुटेज अध्ययन गर्ने क्रममा पैसा लुट्ने उद्देश्यले कसैले एटीएममा तोडफोड गरेको देखियो । सीसीटीभी फुटेजकै आधारमा गरिएको अनुसन्धानका क्रममा प्रहरीले एटीएम तोडफोड गर्ने कार्यमा संलग्न खड्कालाई पक्राउ गरेको हो ।

खड्कालाई सोमबार कञ्चनपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । प्रहरीका अनुसार वैशाख १७ गते राति कैलालीको अत्तरिया बजारको महेन्द्रनगर रोडमा रहेको एनआईसी एसिया बैंकको एटीएम बुथमा तोडफोड भएको थियाे। पक्राउ परेका खड्कामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

विराटनगरमा १ करोड ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

मोरङ। सशस्त्र प्रहरी बल बिराटनगरले १ करोड ९ लाख ७९ हजार ५ सय ३० भारतीय रुपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ।

विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो ।

WB73E 7635 नम्बरको ट्रक चेक जाँच गर्ने क्रममा उक्त रकम बरामद भएको हो।

पक्राउ पर्नेमा ट्रक चालक रवि कुमार र सहचालक पप्पु कुमार रहेका छन्। दुवै जना भारतीय नागारिक हुन्। नेपालमा उनीहरुले पैसा कसको लागी ल्याएका थिए भन्ने खुल्न सकेको छैन। यस बिषयमा थप अनुसन्धान भईरहेको सशस्त्र प्रहरीले जनाएको छ।

ओलीको भूमिकाप्रति नेताहरू सशंकित, प्रचण्ड र माधव नेपालसहित चार नेता छलफलमा

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद मत्थर भए पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको भूमिकाप्रति केहि नेताहरू सशंकित देखिएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल स्थायी समिति बैठकको रणनीति बनाउन जुटेका छन्। प्रचण्ड, नेपालसहित सचिवालयमा रहेका अर्का वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच सोमबार बिहान दुई घण्टा छलफल भएको हो।अध्यक्ष ओलीले सचिवालय बैठकमा आत्मालोचनासहित गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनको प्रस्ताव स्थायी समितिमा आउनुपर्नेबारे छलफल भएको हो।

प्रचण्ड, नेपाल, खनाल प्रवक्ता श्रेष्ठको निवास हात्तीवन पुगेका थिए। पार्टीको विवाद चर्किरहेका बेला शनिवार बसेको सचिवालय बैठकले केही हदसम्म किचलो साम्य पारेको छ। प्रधानमन्त्रीको राजीनामा र पार्टी नै फुट्न सक्ने तहसम्म पुगेको नेकपा विवाद एकाएक साम्य भएको छ। शनिवार सचिवालय बैठक अघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको भेटमा विवाद सुल्झाएको नेताहरुले बताएका छन्।

स्थायी समिति बैठक माग गरेका २० सदस्यले छुट्टै पूरक प्रस्ताव तयार पार्ने र त्यो बैठकमा पेस गर्ने जानकारी प्रचण्ड र नेपाललाई दिएका थिए। त्यसबारे के गर्ने भन्ने विषयमा छलफल गर्न उनीहरू श्रेष्ठ निवासमा जुटेका हुन्।

अध्यादेश प्रकरणपछि स्थायी समिति बैठक माग गर्नेमा प्रचण्ड र नेपाल पक्षका नेताहरू थिए। उनीहरू शनिबारको सचिवालय बैठकमा भएको समझदारीप्रति सन्तुष्ट देखिएका छैनन्। स्थायी समितिमा आफ्ना विषय प्रस्टसँग राख्न पाउनुपर्ने भन्दै उनीहरूले दबाब बढाएका छन्। नेपालले आइतबार आफूनिकट स्थायी समिति सदस्यसँग भेट गरेका थिए। उनले सोमबार प्रचण्ड पक्षका स्थायी समिति सदस्यसँग छलफल चलाए। स्थायी समिति सदस्य हरिबोल गजुरेलले पहिले अध्यक्षको प्रस्ताव हेरेर सामूहिक पूरक प्रस्ताव ल्याउन छलफल गरिरहेको बताए।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले आत्मालोचना गरेका थिए। बैठकपछि नेताहरु अब पार्टी र सरकार विधिवत् रुपमा चल्ने बताउँछन्।

प्रधानमन्त्रीको राजीनामा मागेका शीर्ष नेताहरु तत्कालका लागि राजीनामा टरेको प्रतिक्रिया दिन थालेका छन्।

‘संगठन सञ्चालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन’

काठमाडाैँ। तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सञ्चालन विधि र पद्धतिबारे गम्भीर जिज्ञासा र प्रश्नहरु उठ्ने गरेको छ । फरक-फरक विचार र विरासत बोकेको दुई पार्टीबीच भएको एकता एकीकृत विचार, संगठन र नेतृत्व निर्माणको संक्रमणकालीन अवस्थामा रहेको छ ।

संक्रमणकालीन अवस्था आफैँमा संवेदनशील एवं विशिष्ट अवस्था हो । यस्तो अवस्थामा संगठन सञ्चालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन त्यसको लागि विशिष्ट चरित्र अनुरुपको विधि र पद्धति अवलम्बन गर्नुपर्ने नेकपाका नेता प्रभु साहको भनाई छ ।

संगठनमा विवादको चुरो एकथरी नेताले नेकपा एउटा पार्टी भइसकेकोले विगतदेखि अभ्यास गर्दै आएको अल्पमत र बहुमतसहितको परम्परागत विधिको माग गर्ने यथास्थितिवादी पक्षधर र अर्को, नेकपा एउटा पार्टी भए पनि नेतृत्व, विचार र संगठनमा अलग-अलग अस्तित्व कायम रहेको र त्यसको व्यवस्थापन अन्तरिम विधानले महाधिवेशनसम्म गर्ने भनेकोले तत्काल पार्टी संचालन दुई पक्षको सहमतिमा चल्ने विधिलाई नै सही र वस्तुवादी भन्ने पक्षधर रहेको छ ।

पार्टीभित्रकै केहि पुरातन यथास्थितिवादी नेताहरुले मुल नेतृत्वलाई प्रभावमा पारी आन्तरिक विवाद निवारणका लागि गलत ढंगले पार्टीको विभिन्न कमिटीलगायत संसदीय दलमासमेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिरहेका छन् ।

जुन आम जनभावना तथा पार्टी एकताको मुल मर्म र भावना विपरीत हो । यसमा अब बस्न लागेको पार्टी स्थायी कमिटीका सम्पूर्ण सदस्यहरूको विशेष ध्यान जानुपर्ने साहको भनाई छ । अहिले अन्तरिम विधानको परिकल्पनालाई आत्मसात गर्दै आपसी सद्भाव, समझदारी एवं सहमतिबाट अगाडि बढ्नु नै उचित देखिएको छ ।

अभिनेत्री प्रियंकाको केही हट तस्बिर(फोटो फिचर)

काठमाडौं । सरकारले देशभर गरेको लकडाउनका कारण सेलिब्रेटीको जीवन घरमै सीमित भएको छ ।हालै विवाह गरेकी नायिका प्रियंका कार्कीले हनिमुन मनाउन नभ्याउँदै देशमा लकडाउन सुरु भयो । त्यसयता उनी घरभित्रै श्रीमानसँग दिन बिताइरहेकी छिन् ।

प्रियंकाले अभिनेता आयुष्मान देशराज जोशीसँग फागुन १५ गते विवाहबन्धनमा बाँधिएकी थिइन्। अहिले यो जोडी भैँसेपाटीमा रहेको नयाँ घरमा बस्दै आएको छ । अहिले उनीहरु त्यहीँ ‘लकडाउन’ मनाइरहेका छन् ।

लकडाउनले गर्दा नयाँ घरको सजावटको लागि प्रशस्तै समय पाएको प्रियंकाले बताइन् । उनले भनिन्, ‘नयाँ घरको सेटअप गर्न पाइएको थिएन । यो लकडाउनले त्यसका लागि समय दियो ।’

क्वारेन्टाइनमा बस्दा चलचित्रको स्कृप्टसमेत लेखिरहेको प्रियंका बताउँछिन्। उनी ‘जस्ट अनादर लभ स्टोरी’ को दोस्रो सिजनको लागि स्क्रिप्ट लेखिरहेकी छिन् । प्रियंका भन्छिन्, ‘धेरैले यसको दोस्रो सिरिजको अपेक्षा गर्नुभएको छ । यसलाई तयार गर्दैछु ।’

यस बाहेक प्रियंकाले विदेशी समूहसँग मिलेर गर्ने दुई वटा प्रोजेक्टको पनि स्क्रिप्ट तयार गरिरहेकी छिन् । उनले ती दुई प्रोजेक्टमा काम गर्न साइन गरिसकेको बताए पनि नाम खोल्न चाहिनन् । नायिका प्रियंका कार्की पनि यतिबेला फुर्सदमा छिन् ।

हेरौं उनले शेयर गरेका केही तस्वीरः

 

 

 

२ वर्षदेखिको प्रेमसम्बन्धलाई विवाहमा बदलिन् नायिक मरिष्का

काठमाडौं – नायिका तथा मोडल मरिष्का पोखरेलले २ वर्षको प्रेमसम्बन्धलाई विवाहमा बदलेकी छन्। उनले प्रेमसम्बन्धलाई गतसाता विवाहकाे रूप दिएकी हुन्

फिल्म क्षेत्रमा खासै जम्न नसकेकी मरिष्काले केही म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेका फिल्म असफल भए पनि लोकदोहोरी गीत ‘सालको पात टपरी हुनी’ ले भने चर्चा कमाएको थियो । यो गीतको भिडियोबाट मरिष्काले पनि चर्चा कमाएकी थिइन् ।

मरिष्काले विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका प्रेमीसँग बिहे गरेको जनाइएको छ । यी दुईले अस्ट्रेलियामा नै बिहे गरेका हुन् ।

क्राइम थ्रिलर फिल्ममा तापसीले अभिनय गर्ने

एजेन्सी । बलिउडमा धेरै फिल्म खेलिसकेकी तापसी पन्नु पछिल्लो समय एक पछि अर्को फिल्मममा अनुबन्ध भइरहेकी छिन् । भारतिय मिडियाका अनुसार उनले अब निर्देशक राहुल ढोलकियाको नयाँ फिल्ममा अभिनय गर्ने भएकी छिन् ।

महिला केन्द्रित नयाँ फिल्म बनाउन लागेका राहुलले फिल्ममा कृति सेनन लिड रोलमा चुनिएको बताउका थिए । तर अभिनेत्री कृति सेननले आफ्नो डेट नमिल्ने भन्दै फिल्म छाडेकी थिइन् । २०१९ अगस्टमा सुटिङ तय गरिए पनि कृतीले फिल्म खेल्न मानिन् । राहुलले यस फिल्मको लागि अभिनेत्री सारा अली खानसँग पनि प्रस्ताव गरे । तर उनी पनि फिल्म खेल्न मानिन् ।

तर यस फिल्मका लागि अभिनेत्री तापसी पन्नुले साइन गरेकी छिन् । तापसीले फिल्मको स्क्रिप्ट पनि मनपराएको बताइएको छ । मिडियाका अनुसार यो एक क्राइम थ्रिलर फिल्म हो । यस फिल्मको सुटिङ लकडाउन खुलेपछि शुरु गरिने बतायएको छ । दक्षिण भारतीय फिल्मबाट आफ्नो करियरको सुरु गरेकी चर्चित अभिनेत्री हुन् तापसी ।

सर्वोच्चद्वारा सरकारकाे नाममा अन्तरिम आदेश: विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउ

काठमाडाैं। कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिकहरु फर्काइरहेको र विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई फर्काउन दबाबसमेत आएको भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हाे।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले आफ्ना नागरिकलाई उचित व्यवस्थापन गरी फिर्ता ल्याउन भनेको हो। वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार पार्न समेत सर्वोच्चले भनेको छ।

‘वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिममा रहेका नेपाली नागरिकको अनियन्त्रित र अव्यवस्थित नेपाल प्रवेशबाट हुने थप जोखिमलाई संरक्षण गर्न, नागरिकको व्यक्तिगत अधिकार, बहुसंख्यक नागरिकाको जीवन स्वास्थ्य, सुरक्षाको हितलाई उनीहरुको उद्धार र फिर्ता ल्याउने कार्य गर्नुपर्ने देखिन्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘उनीहरुलाई फिर्ता ल्याउनका लागि आवश्यक प्रशासनीक, आर्थिक र व्यवस्थापकीय पहल गर्न अन्तरिम आदेश जारी गरिदिएको छ।’

विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम विना भेदभाव उपचारलगायतका सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्रमार्फत् कूटनीतिक पहल गर्न पनि सर्वोच्चकाे आदेशमा भनिएकाे छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरु अलपत्र रहेको र कतिपयलाई फिर्ता जान दबाब सिर्जना भइरहेको विषयमा पनि सर्वोच्चले सरकारको ध्यानाकर्षण गराएको छ। यसअघि पनि सर्वोच्चले विदेशमा रहेका नेपालीहरुको बारेमा सरकारको नाममा आदेश जारी गरेको थियो। यसअघि सुरक्षित गर्ने र उनीहरुको उचित व्यवस्थापनको विषयमा सोधेको सर्वोच्चले यस पटक उद्धार गर्न भनेको छ। अधिवक्ता सोमप्रसाद लुइटेलसहितले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।