‘लकडाउनले संक्रमणलाई धकेल्यो, रोकेन’

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विस्तार बढ्दो भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले डेढ महिनादेखि जारी लकडाउनले मुलुकमा संक्रमणको विस्तारलाई पछाडि धकेले पनि रोक्न भने नसकेको औंल्याएका छन् ।

लकडाउनले संक्रमणको गति कम गरेर योसँग जुध्न आवश्यक तयारीका लागि समय दिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेले बताए । दुबईबाट फर्किएका कैलालीका एक युवकमा संक्रमण पुष्टि भएकोमा पछि कुनै ट्राभल हिस्ट्री नरहेकी उनकी ३४ वर्षीया भाउजूमा समेत संक्रमण देखिएपछि चिन्ता थपिएको थियो । माघ ९ मा कोभिड–१९ को पहिलो केस देखिएकोमा बिहीबारसम्म (१०६ दिन) मा ९९ जनामा संक्रमणको पुष्टि भएको छ भने २२ जना निको भएर घर फर्किसकेका छन् ।

‘कोभिड–१९ संक्रमण बढ्दो भए पनि हालसम्म बाहिरबाट आएका व्यक्तिको सम्पर्कमा आएकाहरूमा नै देखिएको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । उनका अनुसार कन्ट्याक्ट ट्रेसिङ गर्दासमेत समुदायमा व्यापक सरेको देखिएको छैन । तर, संक्रमणको विस्तार विश्वका अन्य मुलुकजस्तै बढ्दो भने छ । लकडाउनले गर्दा मुलुकमा संक्रमणको विस्तारलाई पछि धकेले पनि रोक्न भने नसकेको डा. अधिकारीले पनि औंल्याए ।

कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट एवं जनस्वास्थ्यविद् डा. संगीता मिश्र उपयुक्त रूपले ट्रेसिङ र छानेर नमुनाको जाँचसँगै अस्पतालको क्षमता विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिन्छिन्।
हाल नेपालगन्जको बस्तीमा संक्रमण देखिए पनि खास समूहमा मात्रै रहेको र नियन्त्रणको अवस्थामा रहेको डा. पाण्डेले दाबी गरे । ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा स्पष्ट रूपमा यात्रा इतिहास, भेटघाटलगायतका आवश्यक जानकारी पाउन गाह्रो देखिएको छ तर मुख्य चुनौती अझै सीमापारिबाट लुकीछिपी आउनेहरूबाटै छ,’ उनले भने । हाल कोभिड–१९ को उच्च जोखिम प्रदेश १ र २ मा बढी रहेको विज्ञहरूको भनाइ छ । कान्तिपुर दैनिकबाट

पाेखरामा तिम्ल्याहा बच्चाकाे जन्म

कास्की । पोखरा नगरपालिका–१७ की सपना भण्डारीले तिम्ल्याहा बच्चा जन्माएकी छिन् । सपनाले मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा सन्तान जन्माएकी हुन् । बुधबार बेलुका सपनालाई ब्यथा लागेपछि मणिपाल शिक्षण अस्पताल भर्ना गरिएको थियो ।

बिहीबार बिहान डाक्टरले सपनाको शल्यक्रिया गरेर बच्चहरु निकालेका हुन् । ७ महिनामै जन्मिएका तीनै जना सन्तान र सपनाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाए ।

सपनाले २ छोरा र १ छोरीलाई जन्म दिएकी हुन् । पहिलो बच्चाको रुपमा जन्मिएकी छोरी १.३ केजी तौलकी छन् । दोस्रो र तेस्रो बच्चा समान १.२ केजी तौलका भएको अस्पतालले जनाएको छ ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. महेन्द्र पाण्डे र डा. बालकृष्ण तनेजालगायतले सपनाको शल्यक्रिया गरेका थिए । नवजात शिशुहरुको अवस्था सामान्य भएपनि तौल कम भएका कारण केही दिन एनआईसीयूमा राख्नुपर्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

पर्यटन बोर्डमा चिनियाँ नागरिकको धर्ना

काठमाडौं । काठमाडौंको दरबारमार्गमा बिहीबार अपरान्ह ठुलो संख्यामा चिनियाँ नागरिकको हुल देखियो । करिब ५०/६० जनाको संख्यामा रहेका चिनियाँलाई पछ्याउदैं गर्दा उनीहरु नेपाल पर्यटन बोर्डको कार्यालय पुगेर रोकिए ।

‘हामी घर फर्कँन चाहन्छौं’ लेखिएको प्लेकार्डसहित आएका उनीहरु घर फर्कँने मागलाई प्रभावकारी बनाउन पर्यटन बोर्डमा धर्ना दिन आएका थिए । काठमाडौंको ठमेल आसपासमा बसोबास गर्दै आएका उनीहरु लकडाउनका कारण नेपालमा अलपत्र परेको भन्दै सुरक्षित रुपमा घर फर्काँइदिन माग गर्दै आएका छन् ।

धर्नामा सहभागी एक चिनियाँका अनुसार नेपालमा रहेको चिनियाँ राजदुताबासले गुनासो सुनुवाइ नगरेपछि सामूहिक रुपमा भेला भएर पर्यटन बोर्डमा धर्ना दिएका हुन् । उनले भने, ‘हामी घर फर्किन चाहन्छौं । हामीलाई घर फर्किँने व्यवस्थाका लागि दबाव दिन हामीले धर्ना शुरु गरेका हौं ।’

उनले घर फर्कँना नेपालस्थित चिनियाँ दूतावासमा सम्पर्क गर्दा कुनै पहल नभएपछि धर्ना बाध्यता भएको बताए । उनका अनुसार यहाँ उपस्थित चिनियाँहरु प्रतिनिधि मात्र हुन् । करिब ३/४ सयको संख्यामा रहेको चिनियाँ नागरिक स्वदेश फर्किन चाहन्छन् ।

लकडाउन आजबाट केही खुकुलो भए पनि यी सेवा क्षेत्र खोल्न नपाइने

काठमाडौं । सरकारले आजबाट लकडाउनलाई केही खुकुलो बनाउँदै सशर्त केही सेवा क्षेत्रहरु खोल्न दिने भएको छ । केही उद्योग प्रतिष्ठान सहित विभिन्न सेवा क्षेत्रलाई सुरक्षा विधि अपनाउदै सञ्चालन गर्न दिइने बताइए पनि केही क्षेत्र अझै पनि खोल्न नपाइने जनाइएको छ ।

सरकारले विश्वविद्यालय, क्याम्पसलगायत सबै शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, गैरखाद्यवस्तु विक्री विरतण गर्ने व्यवसायिक मलहरु रहेका छन । त्यस्तै होटल, बार, रेष्टुरन्ट स्टोर, सिनेमा हल, धार्मिक संस्था, फन पार्क, पार्टी प्यालेस, सार्वजनिक भेला, रंगशाला, जिमसेन्टर, ब्युटी पार्लर सञ्चालन गर्न नपाइने निर्णय गरेको हो ।

त्यस्तै, १२ वर्षमुनिका बालबालिका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, गर्भवती महिलाले घुमघाम गर्न पाउने छैनन् । आन्तरिक तथा अन्तराष्ट्रिय व्यवसायिक यात्रुवाहक हवाई उडान गर्न पाईने छैन । केवलकार र रेलसेवा सञ्चालनमा पनि रोक लगाइएको छ ।

नेपालको कुनै पनि भूभागमा संक्रमणको जोखिम बढी देखिएमा माथि उल्लेख गरिएका व्यवस्थाहरु स्थानीय प्रशासनले निश्चित अवधिसम्म सञ्चालनमा रोक लगाउन सक्नेछ ।

भिसाको म्याद सकिएका विदेशीलाई मलेसिया छाड्न निर्देशन

क्वालालम्पुर । मलेसियन सरकारले जनवरी १ तारिखयता भिसाको म्याद सकिएका नेपालीसहित सबै विदेशी कामदारलाई आआफ्नो देश फर्किन निर्देशन दिएको छ।

मलेसियाको अध्यागमन विभागले जनवरी १ तारिखयता आवासीय भिसा समाप्त भएका आप्रवासी कामदारलाई आवागमन नियन्त्रण आदेश (एमओसी) पनि सकिएको १४ दिनभित्र मलेसिया छाड्‍न भनेको हो।

त्यस्ता विदेशी कामदारलाई यही मे १२ तारिखदेखि २६ सम्म आफ्नो देश फर्किसक्न मलेसियन सरकारले निर्देशन दिएको मलेसियामा रहेको नेपाली दूतावासले विज्ञप्तिमा उल्लेख छ। तर यसरी स्वदेश फर्किननेले कुनै जरिवाना तिर्नु पर्दैन भने मलेसियाको अध्यागमन कार्यालयमा थप कागजात वा कुनै पास बनाउनुपर्ने पर्दैन।

दूतावासका अनुसार लकडाउन लागू हुनुभन्दा पहिले वा त्यही अवधिमा भिसा सकिएको र नवीकरण गर्नपर्ने भएमा मे १२ देखि एक महिनाभित्र कार्यालय समयमा मलेसियन अध्यागमन विभागको पुत्रजयास्थित मुख्य कार्यलयबाट गर्नुपर्ने भएमा पहिले नै एप्समार्फत समय र अनुमति लिनुपर्नेछ।

भारतमा काेराेनले मृतकाे संख्या कति पुग्याे?

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा ज्यान गुमाउनेको संख्या १ हजार ८८९ पुगेको छ । गएको २४ घण्टामा कोरोनाका कारण थप १०४ जनाले ज्यान गुमाएसँगै भारतमा मृतकको संख्या१ हजार ८८९ पुगेको छ ।

भारतमा एकैदिन थप ३ हजार ३६४ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५६ हजार ३५१ पुगेको छ । भारतमा संक्रमितमध्ये १६ हजार १४२ जना उपचारपछि निको भएका छन्। ३७ हजार ६८६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ६४१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३३ हजार बढी संक्रमित छन् । त्यसैगरी इरानमा ६ हजार ४८६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख ३ हजार १३५ पुगेको छ । त्यसैगरी चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ, संक्रमितको संख्या ८२ हजार ८८५ पुगेको छ ।

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार नाघ्यो, ३९ लाख १२ हजारबढी संक्रमित

काठमाडौं– विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ७० हजार ३४९ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ५१२ जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म ३९ लाख १२ हजार ३२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । एकैदिन ९४ हजार ९४४ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये १३ लाख ४० हजार ५६८ जना उपचारपछि निको भएका छन् । बिरामी रहेका २३ लाख १ हजार ४०९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररत मध्ये ४८ हजार ९५८ जनाको अवस्था गम्भीर छ ।

त्यस्तै युरोपियन मुलुकमा कोरोना संक्रमितको संख्या १५ लाख ५३ हजार ६९९ पुगेको छ । एकै दिन २८ हजार ७५९ जनामा नयाँ संक्रमण देखिएको छ । युरोपका देशहरुमा अहिलेसम्म १ लाख ४८ हजार ४६१ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा मात्रै १ हजार ८३० जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ६ लाख ११ हजार ५२९ जना उपचारपछि निको भएका छन् भने ७ लाख ९३ हजार ७०९ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये १५ हजार ४०४ जनाको अवस्था गम्भीर छ।

एसियाली देशका कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार २०५ पुगेको छ । एकैदिन ३९९ जनाको मृत्यु भएको छ । १५ हजार ४३९ नयाँ संक्रमित थपिएसँगै ६ लाख १८ हजार ५०४ जनामा संक्रमण देखिएको छ । संक्रमित ३ लाख ३८ हजार ६४० जना निको भएका छन् । २ लाख ५८ हजार ६५९ जनाको उपचार भइरहेको छ । जसमध्ये ५ हजार २०१ जनाको अवस्था गम्भीर छ ।

उत्तर अमेरिकी मुलुकमा कोरोना संक्रमितको संख्या १४ लाख ८ हजार ८०८ पुगेको छ । एकैदिन ३२ हजार ९०७ जनामा नयाँ संक्रमण फेला परेको छ । अहिलेसम्म कोरोनाकै कारण ८४ हजार ९३८ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण अमेरिकी मुलुकमा पनि आज एकैदिन १५ हजार २३१ जनामा नयाँ संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या २ लाख ६६ हजार ८४२ पुगेको छ । मृतकको संख्या १३ हजार ५३२ पुगेको छ ।

संक्रमितमध्ये ९३ हजार ९२० निको भएका छन् भने १ लाख ५९ हजार ३९० जनाको उपचार भइरहेको छ ।

अफ्रिकी मुलुकमा ५५ हजार २६३ मा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म २ हजार ८० जनाले ज्यान गुमाएका छन् । अस्ट्रेलियासहित ओसियान मुलुकमा ११८ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ८ हजार ४८९ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाटा शुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ ।अहिलेसम्म विश्वमा ३९ लाख १२ हजार ३२६ जना संक्रमित छन् । जसमध्ये २ लाख ७० हजार ३४९ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा बढी संक्रमण देखिएको अमेरिकामा कोरोनाको संक्रणबाट ज्यान गुमाउनेको संख्या ७६ हजार ९०५ पुगेको छ । एकै दिन २९ हजार २२ जनामा नयाँ संक्रमणदेखिएसँगै १२ लाख ९२ हजार ११४ जना संक्रमित छन् ।

स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ८५५ पुगेको छ । बितेको २४ घण्टामा ३ हजार १७३ जनामा नयाँ संक्रमण देखिएको छ । २४ घण्टामा २१३ जनाले ज्यान गुमाएका छन् । यो सँगै स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ हजार ७० पुगेको छ ।

संक्रमित १ लाख ६३ हजार ९१९ जना निको भएका छन् । अहिले ६६ हजार ८६६ जनाको उपचार भइरहेको छ । उपचारतमध्ये १६ हजार ९९५ को अवस्था गम्भीर छ । बेलायतमा एकै दिन ५३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै बेलायतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको छ ।

एकैदिन ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार २ लाख ६ हजार ७१५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये १ लाख ७५ हजार ७५६ जनामा भाइरस सक्रिय छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

कपिलवस्तुमा भेटिएका संक्रमित कहाँबाट आए?

बुटवल । कपिलबस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई जना १० दिन अघि मुम्बइबाट भागेर नेपाल आएको पाइएको छ । बिहीबार कपिलवस्तुको मायादेवी गाउपालिका ८ अर्थात साविक बिजुवा गाउपालिकाका १६ र २२ वर्षका दुई व्यक्तिमा संक्रमण भेटिए पछि सो तथ्य बाहिर आएको हो ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार उनीहरु १० दिनअघि मुम्वईबाट आएका थिए । कपिलवस्तुको नाकाबाट लुकेर नेपाल प्रवेश गरेका थिए ।

स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीले उनीहरुलाई क्वारेन्टाइनमा ल्याएका थिए । उनीहरु दुवैजना मायादेवी गाउपालिका पकडीस्थित तीर्थादेवि छत्रपाली माविको क्वारेण्टाइनमा बसेका थिए ।

संक्रमीतलाई बुटवलको रामनगरस्थित धागो कारखानामा प्रदेश ५ सरकार र लुम्बिनी प्रादेशिक अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा लगिने छ । अहिले उनीहरुको यात्रा विवरण र सम्बन्धबारे खोजीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

संक्रमित दुवै जनाको स्वास्थ्यअवस्था अहिले सामान्य रहेको छ । कपिलवस्तुमा दुई जना संक्रमित भेटिएपछि शुक्रबार बिहानैदेखि कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिने प्रदेश ५ का स्वास्थ्य निर्देशक डा.विनोद गिरीले जानकारी दिए ।

आजको राशिफल: कस्ताे छ तपाईकाे भाग्य?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समय प्रतिकुल भई कुलतमा मन जान सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मतभेदको अवस्थापनि आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज रोकिएका धन र कार्यमा विस्तारै सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नसक्छ, तर साँझमा अधिक धन खर्च हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रबाट केही राम्रो हुन सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । घरायसी विवाद बढ्न सक्छ । चोटपटकपनि लाग्न सक्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सेवा र धार्मिक कार्यमा रुचि बढ्नेछ । कृषि क्षेत्रको काम अघी बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । अन्न लाभपनि हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक सामान्य नै रहला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य अलि सहज हुनेछ । धार्मिक / सांस्कृतिक र परोपकारमा मन जानेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मुद्धा मामिलामापनि सफलता मिल्न सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ, तर वैदेशिक क्षेत्र भने कमजोर नै रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

नेकपा प्रवक्ताको ट्वीटले उठायो प्रश्न- के नेकपा विभाजनउन्मुख छ ?

काठमाडौँ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र गहिरिदो शक्तिसंघर्ष उत्कर्समा पुगेको संकेत गरेका छन् । स्थायी कमिटी अनिश्चतकालका लागि स्थगित भएको भोलिपल्ट बिहीबार लगातार तीन ट्वीटमार्फत् पार्टी प्रवक्ता श्रेष्ठले नेकपाभित्रको अन्तरविरोध कहाँ पुगेको रहेछ भन्ने सन्देश दिएका छन् ।

‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो। हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर, पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ।’उनले पहिलो ट्विटमा भने । यससँगै उनको अर्को ट्विट पनि आयो, ‘अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ-आफ्नो ठाँउबाट भूमिका खेलौं, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पूरा गरौं।’

यसबाहेक उनको अर्को ट्वीटमा भनिएको छ, ‘समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन। यो त शोषित-श्रमजीवी वर्ग र अन्ततः सिंगै मानवजातिको मुक्तिको परियोजना हो । सत्ता उक्त उद्देश्यका निम्ति साधन र जिम्मेवारी हो । यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं । के हुने?’

बुधबार बसेको सचविालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीका एजेन्डामा सरकारको समीक्षा र संगठनात्मक बाँडफाँटको विषय नपारेपछि बिहीबारका लागि बोलाइएको सचिवालय बैठक स्थगित छ । यसपछि नेकपाभित्रको विवद नयाँ तरिकाले मुखरित भएको छ ।

यसअघि बैशाख २० को सचिवालयको निर्णय कार्यन्वयनमा आलाटल भएको भन्दै प्रवक्ता श्रेष्ठले मंगलबार पनि यस्तै अर्थपूर्ण दुई ट्वीट गरेका थिए । मंगलबार बिहान उनको ट्वीट थियो, ‘अस्तिको सचिवालयको निष्कर्षबाट बिचलनले पार्टीमा पुनःसंकट ल्याउनेछ । अत:अन्यथा हुनै सक्दैन, गर्नै मिल्दैन । पार्टी एकताको रक्षा, विधिपद्दतिको पालना, पार्टीद्वारा सरकार सञ्चालन, सरकारबाट समाजवादउन्मूख समृध्दिको काम र त्यसको लागि आत्मालोचनासहित नयाँ शिराबाट काम गर्ने सँकल्प- यो हो निश्कर्ष।’

जबकि त्यसैदिन राति उनले अर्को ट्वीटमा लेखेका थिए,‘हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरुलाई सच्च्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजोदेखि फेरि झुटा भ्रमात्मक समाचारहरु प्रचारित हुन थालेका छन् । पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दैछ ? सचेत होऔं । २०गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौं । अन्यथा नगरौं ।’

दुई अध्यादेश प्रकरणसँगै सुरु भएको नेकपाको विवाद १३ औं दिनका दिन पार्टी एकता सुदृद्ढ गरेर जाने सचिवालयको निर्णयसँग साम्य भएको थियो । तर, बैशाख २० को सचिवालय निर्णय कार्यन्वयनलाई लिएर पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच मतभेद भएपछि नेकपा जटिल विवादतर्फ प्रवेश गरेको हो । विवादकै कारण बुधबार बसेको सचिवालय बैठकले बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न नसकेपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। कान्तिपुर दैनिकबाट