कांग्रेस महाधिवेशन : सभापतिमा देउवा ‘सेफजोन’मा, महामन्त्रीमा को बलियो ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जिल्ला र प्रदेश अधिवेशनमा स्पष्ट बहुमतका साथ १४ औं अधिवेशनमार्फत पुनः पार्टी नेतृत्व हाँक्ने तयारीमा रहेका छन्।

प्रदेश २ का ८ सहित १६ जिल्लामा अधिवेशन हुन बाँकी रहे पनि ६१ जिल्ला र प्रदेश अधिवेशनको परिणाम घोषणा हुँदा देउवा पक्ष पार्टीको आन्तरिक प्रतिस्पर्धामा बहुमतमा रहन सफल भएको हो ।

केन्द्रीय निर्वाचन समितिका एक सदस्यले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा यसपटक देउवा शक्तिशाली भएको बताए । ‘सभापतिजीको पक्षमा बहुमत छ । पार्टीभित्र झण्डै ५५ प्रतिशतभन्दा बढी उहाँको पक्षका महाधिवेशन प्रतिनिधिले जितेका छन्, प्रदेशमा पनि बलियो पकड देखिएको छ,’ ती सदस्यले भने ।

‘देउवा निर्विकल्प’ नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । सरकारको नेतृत्व गरेको दल महाधिवेशनको तयारीमा जुटिरहँदा अन्तर्राष्ट्रिय चासो पनि अवश्य हुन्छ । नेपाली राजनीतिक चतुर खेलाडी हुन् कांग्रेस सभापति देउवा ।

लामो भाषण र बतासे गफभन्दा ‘एक्सन’मा विश्वास गर्ने देउवाले कम्युनिष्ट पार्टीको दुईतिहाइ हुँदा–हुँदै पनि देशको प्रधानमन्त्री हुने अवसर प्राप्त गरे। ‘नेपाली कांग्रेसका लागि विशिष्ट अवसर छ अहिले, राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विश्वास आर्जन गरेका नेता देउवा नै हुन्, त्यसैले उनको विकल्प १४ औं महाधिवेशनमा म चाहिँ कल्पना गर्दिनँ,’ कास्कीका एक पुराना नेता तथा महाधिवेशन प्रतिनिधिले भने।

कांग्रेसका प्रभावशाली नेताहरू नै देउवाका पक्षमा उभिएपछि सभापति पदमा उनको जीत थप सहज भएको राजनीतिक विश्लेषक डा. उद्धव प्याकुरेलको धारणा छ । संस्थापनइतरमा फुटै–फुट संस्थापन इतर पक्षमा भने महाधिवेशन नजिकिँदै गर्दा झन् कलह र विभाजन चर्किएको छ। सभापति तथा अन्य महत्वपूर्ण पदमा साझा उम्मेदवार बन्ने संभावना छैन।

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंहलगायत सभापतिका आकाँक्षी भए पनि उनीहरुबीच सहमति बन्न सकेको छैन। एकले अर्कोलाई स्वीकार्ने अवस्था छैन । यसले पनि सभापतिमा देउवालाई थप सजिलो भएको छ। महाधिवेशनको मुुखमा आइपुुग्दा पनि शभापतिका लागि देउवा इतर समूहले साझा उम्मेदवारी घोषण गर्न सकेको छैन।

पहिले नै सभापतिमा उम्मेदवारी घोषण गरेका उपसभापति विमलेन्द्र निधि चुनावी मैदानमा कमजोर देखिएका छन्। संस्थापन पक्षले सहयोग गर्ने अवस्था छैन भने संस्थापन इतरसँग सहकार्यको संभावना पनि छैन। उनले आफ्नाे टिम बनाउन सकेका छैनन्।

अर्का आकांक्षी कृष्ण प्रसाद सिटौला देउवासँग रणनीतिक सहकार्य गरेर १५ औं महाधिवेशनमा आफ्नो स्पेस सुुरक्षित गर्ने दाउमा छन् ।

महामन्त्रीमा को बलियो ?

महामन्त्री पदमा थुप्रै आकांक्षी देखिएका छन् । संस्थापन पक्षबाट ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाण, प्रकाशशरण महत, एनपी साउँदलगायतका नेताहरुले उक्त पदमा उम्मेदवारीको तयारी गरेका छन् ।

कांग्रेसका समकालीन नेताहरूमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्की प्रष्ट विचार र समन्वयकारी भूमिकामा सधैँ अग्रस्थानमा रहन्छ । नेपाल विद्यार्थी संघका अध्यक्ष रहेर काम गरेका कार्की काँग्रेस सभापति देउवासँग निकट छन् ।

उनी संस्थापन पक्षमा रहे पनि गुटबन्दीको घेराभन्दा बाहिर छन् र उनलाई अर्को पक्षले स्वीकार्ने अवस्था छ । अन्य राजनीतिक दलहरूसँग संवाद गर्न होस् या पार्टीको आन्तरिक सांगठानिक समस्या हल गर्न होस् नेता कार्कीको समन्वयकारी भूमिका अपरिहार्यजस्तै छ ।

नेपाली कांग्रेसका एक नेताका अनुसार मन्त्री कार्कीको शालीन छवि र सबैलाई मिलाएर लैजान सक्ने सामथ्र्यले उनलाई भावी नेतृत्वकै रुपमा हेरिएको छ । पार्टीको सांगठानिक संरचनामा कार्कीको बलियो पकडकै कारण उनी १४ औं महाधिवेशनमा कांग्रेस महामन्त्री पदमा विजयी हुने आधार रहेको ती नेताले बताएका छन् ।

‘उर्जा मन्त्रालय, अर्थ मन्त्रालय, कानून मन्त्रालयदेखि सञ्चार मन्त्रालयसम्मको जिम्मेवारीका रहँदा ज्ञानेन्द्रबहादुर कार्की कहिल्यै विवादमा पर्नुभएन, बरु कांग्रेसको सरकार बनेपछि प्रतिपक्षमा पुगेर रन्थनिएका केपी ओलीसँग संवादको प्रक्रिया उहाँले नै सुरु गर्नुभयो, त्यसैले पनि उहाँ एक महामन्त्री पक्का हो,’ ती नेताले भने ।

कांग्रेसका प्रमुख सचेतक एवं गृहमन्त्री बालकृष्ण खाण पार्टीका राम्रा संगठक हुन् । नेपाल विद्यार्थी संघ र नेपाल तरुण दल हाँकेका खाणको कार्यकर्ता पङ्क्तिमा निकै सशक्त प्रभाव छ । गृहमन्त्री खाणले महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरिरहँदा कांग्रेस पार्टीका शालीन नेता कार्कीपछि उनी नै रहेको एक काँग्रेस नेताले बताए ।

कांग्रेस केन्द्रीय सदस्य एनपी साउद कार्यकर्तामाझ लोकप्रीय नेताका रुपमा चिनिन्छन् । नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष साउँद पार्टीभित्र पनि प्रभावशाली नेता हुन् । उनले महामन्त्री पदमा उम्मेदवारी दिने गरी तयारी अगाडि बढाएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं रक्षामन्त्री मिनेन्द्र रिजाल प्रष्ट वक्ता हुन् । केही महिनाअघि नै कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका रिजाल पार्टीभित्र र बाहिर रुचाइएका नेता हुन् ।लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्सा सरकारले जारी गरेपछि भारतीय टेलिभिजनमा नेता रिजालले दिएको एक अन्तरवार्ता भाइरल भएको थियो ।

कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले अर्थशास्त्रमा विद्यावाधिरि गरेका छन् । देशको आर्थिक नीतिलाई राम्ररी बुझेका महतले पनि कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने मनस्थिति बनाएका छन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पछिल्लो समय पार्टीका प्रभावशाली नेताको रुपमा परिचित छन् । कांग्रेस सभापति देउवाले प्रवक्ताको जिम्मेवारी दिएपछि शर्माले पार्टीका हरेक गतिविधि प्रष्टसँग राख्न थाले ।

कांग्रेसका चर्चित युवा नेता गगन थापा महामन्त्रीका बलियो उम्मेदवार हुन्। कार्यकर्ता पंक्तिमा लोकप्रिय गगन कुन समूहबाट अघि बढ्ने भन्ने बारेमा अझै टुगो लागेको छैन। मिडियाको बलियो साथ र कांग्रेसलाई माया गर्ने व्यवसायिक जगतको सद्भाव प्राप्त गरेका गगनको उम्मेदवारी अरुका लागि पनि चुनौती हो ।