संखुवासभा । कोशी प्रदेशको संखुवासभा जिल्लामा भारत सरकारको सहयोगमा सञ्चालन भएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project) अन्तर्गत निर्माण सम्पन्न भएको विद्यालय भवनको उद्घाटन गरिएको छ।
संखुवासभा जिल्लाको चिचिला गाउँपालिका–३ मा अवस्थित श्री दिदिङ आधारभूत विद्यालय को नवनिर्मित विद्यालय भवनको उद्घाटन आज काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री बशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष श्री पासाङ नुर्बु शेर्पा ले संयुक्त रूपमा गर्नुभएको हो।
उच्च प्रभाव परियोजनाअन्तर्गत निर्माण
विद्यालय भवन तथा यससँग सम्बन्धित अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत अघि बढाइएको थियो। उक्त परियोजनाको कार्यान्वयन चिचिला गाउँपालिका मार्फत गरिएको हो। परियोजनाले स्थानीय तहको आवश्यकतालाई प्राथमिकतामा राख्दै शिक्षा क्षेत्रको भौतिक पूर्वाधार सुदृढ गर्ने लक्ष्य लिएको जनाइएको छ।
६ दशकभन्दा पुरानो विद्यालय
सन् १९६२ मा स्थापना भएको श्री दिदिङ आधारभूत विद्यालयमा हाल प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ। नयाँ विद्यालय भवन निर्माणसँगै बालबालिकाका लागि सुरक्षित, सहज र गुणस्तरीय सिकाइ वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
स्थानीय तहको प्रशंसा
उद्घाटन समारोहमा चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगको प्रशंसा गर्नुभयो।
उहाँहरूले नयाँ पूर्वाधारले विद्यालयको शैक्षिक वातावरणमा उल्लेखनीय सुधार ल्याउने, विद्यार्थीहरूको उपस्थिती र सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पार्ने तथा समग्र रूपमा यस क्षेत्रको शिक्षा क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
भारत–नेपाल सहकार्यको प्रतिबिम्ब
नजिकका छिमेकी राष्ट्रका रूपमा भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनले भुईँतहमा प्राथमिकता प्राप्त क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारले अघि बढाएका विकास प्रयासहरूमा भारत सरकारको निरन्तर सहयोग रहेको तथ्यलाई प्रतिबिम्बित गरेको उल्लेख गरिएको छ।
भारत सरकारको सहयोगमा शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारलगायतका क्षेत्रमा सञ्चालन हुँदै आएका यस्ता परियोजनाहरूले दुबै देशबीचको मित्रवत् सम्बन्धलाई थप सुदृढ बनाउँदै आएको जानकारहरू बताउँछन्।












Facebook Comments