नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठनको दोस्रो ‘ग्लोबल समिट अन ट्रेडिशनल मेडिसिन’ आयोजना हुने

काठमाडाैं । डब्लूएचओको ग्लोबल ट्रेडिशनल मेडिसिन रणनीति २०२५-२०३४ को मार्गदर्शनमा आयोजना हुने उक्त समिटमा परम्परागत चिकित्सा प्रणालीले मानिसकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा कसरी अर्थपूर्ण योगदान दिन सक्छ भन्ने विषयमा छलफल हुने बताइएको छ।

काठमाडौं- भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को दोस्रो ग्लोबल समिट अन ट्रेडिशनल मेडिसिन आयोजना गर्ने भएको छ। समिट यही २०२५ डिसेम्बर १७ देखि १९ तारिखसम्म नयाँ दिल्लीमा हुने डब्लूएचओले जनाएको छ।

डब्लूएचओको ग्लोबल ट्रेडिशनल मेडिसिन रणनीति २०२५-२०३४ को मार्गदर्शनमा आयोजना हुने उक्त समिटमा परम्परागत चिकित्सा प्रणालीले मानिसकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा कसरी अर्थपूर्ण योगदान दिन सक्छ भन्ने विषयमा छलफल हुने बताइएको छ।

समिटमा आयुर्वेदसहित विभिन्न परम्परागत चिकित्सा प्रणालीको भूमिका, वैज्ञानिक आधार, नीति समन्वय, अनुसन्धान, नवप्रवर्तन तथा दिगो स्वास्थ्य प्रणाली निर्माणमा यसको योगदानबारे अन्तर्राष्ट्रिय तहमा अनुभव आदानप्रदान गरिनेछ।

यसै सन्दर्भमा भारत र नेपालबीच आयुर्वेद प्रवर्द्धनका लागि सहकार्य विस्तार हुँदै आएको छ। दुवै देशले ज्ञान, सीप र अनुभव आदानप्रदान, मानव संसाधन विकास तथा क्षमता अभिवृद्धिमार्फत आयुर्वेद क्षेत्रमा सहकार्यका विभिन्न पहल अघि बढाएका छन्। परम्परागत चिकित्सा प्रणालीलाई आधुनिक स्वास्थ्य सेवासँग समन्वय गर्दै अघि बढाउने साझा प्रयासका रूपमा यी पहललाई हेरिएको छ।

समिटले परम्परागत चिकित्सा प्रणालीको अन्तर्राष्ट्रिय मान्यता अभिवृद्धि गर्नुका साथै नीति निर्माण र कार्यान्वयनमा सदस्य राष्ट्रहरूलाई साझा दिशानिर्देश प्रदान गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments