पाकिस्तानले बलुचिस्तानमा नियन्त्रण गुमाएको स्पष्ट संकेत

पाकिस्तानको सबैभन्दा ठूलो भू-भागीय प्रान्त बलुचिस्तानमा हालसालै भएका शक्तिशाली आक्रमणहरूले देशभित्रैको अस्थिरता गहिरिंदै गएको देखिएको छ। बलुचिस्तान लिबरेशन आर्मी (BLA) द्वारा जाफर एक्सप्रेसमा गरिएको ट्रेन अपहरणपछि भएको ३० घण्टे सैन्य कारबाहीले पाकिस्तान सेनाको हैसियतमा प्रश्नचिन्ह खडा गरेको छ। एयरस्ट्राइक र थलसेनाको संयोजनमा गरिएको कारबाही पनि विद्रोहीहरूलाई रोक्न पर्याप्त देखिएन।

बलुच विद्रोह अहिले आत्मघाती हमलादेखि लिएर सेना शिविरहरूमा प्रत्यक्ष आक्रमणसम्म फैलिएको छ। BLA का साथसाथै बलुचिस्तान लिबरेशन फ्रन्ट (BLF) र बलुच राजी आजोई संगार (BRAS) जस्ता सशस्त्र समूहहरू यस्ता हमलाहरूमा अग्रपंक्तिमा छन्। हजारौं प्रशिक्षित लडाकु, विशेष युनिटहरू जस्तै माजिद ब्रिगेड र कुर्बान युनिट, तथा अन्तरसङ्गठन समन्वयका माध्यमबाट यी समूहहरू प्रभावशाली र खतरनाक बनेका छन्।

अमेरिकी फौज अफगानिस्तानबाट फर्केपछि अमेरिकी हतियारहरूको ठूलो हिस्सा बलुच विद्रोहीहरूसम्म पुगेको छ। M16 राइफल, ग्रिनेड लन्चर, र PK(M), MG3 जस्ता मेशिनगनहरूले विद्रोहीहरूलाई अझ घातक बनाएका छन्। पाकिस्तानी सुरक्षाफौजप्रति गहिरो घृणा र शंकाको कारण स्थानीय जनसंख्या पनि विद्रोहीहरूप्रति मौन समर्थन जनाउने गरेको छ।

बलुचिस्तानमा सैन्य कारबाही सञ्चालन गर्नु पाकिस्तानका लागि सजिलो छैन। विशाल भौगोलिक क्षेत्र, इरान र अफगानिस्तानसँगको सुरक्षाविहीन खुला सिमाना, र अन्य सीमामा आबद्ध पाकिस्तानी सेनाको सीमित स्रोतहरूको कारण प्रान्तमा बलपूर्वक नियन्त्रण कायम गर्नु कठिन भएको छ।

पछिल्ला केही वर्षहरूमा बलुच राष्ट्रवादी भावना शिक्षा संस्थादेखि महिलासम्म फैलिएको छ। विद्यार्थीहरूले राष्ट्रिय गान गाउन अस्वीकार गरिरहेका छन् भने महिलाहरूले पनि राजनीतिक आन्दोलनमा सक्रियता देखाएका छन्। स्थानीय जनताको तल्लो जीवनस्तर, रोजगारी, शिक्षा र आधारभूत सेवाको अभावले पाकिस्तानप्रति घृणा अझ बलियो बनाएको छ।

पाक सेनाले बारम्बार आफ्नो हिंसात्मक कारबाहीलाई विदेशी हस्तक्षेपको नतिजा भनेर प्रस्तुत गर्ने गरेको भए पनि विद्रोहको मूल कारण बलुच जनताको अपमान, दमन, र संसाधनको लुटपाट हो। सेनाको अमानवीय व्यवहार, जबरजस्ती बेपत्ता पार्ने, हत्या, र यातनाका घटनाहरूले जनआक्रोश बढाएका छन्।

पाकिस्तानी सेना बलुचिस्तानमा जारी असन्तोषलाई नियन्त्रण गर्न असफल भएको छ। फौजी बुथ र बमबाट समस्या समाधान गर्न खोज्नुले समस्या गहिरिँदै गएको छ। सेना र मुलुकको भविष्य सुरक्षीत राख्न सैन्य हैकमभन्दा संवैधानिक, लोकतान्त्रिक निकायको नेतृत्वमा समाधान खोज्नु जरुरी छ। यदि पाकिस्तानले विगतका गल्तीहरूबाट पाठ नलिए भने बलुचिस्तानमा समस्या थप भयावह बन्ने निश्चित छ।

Facebook Comments