संसदमा पेस भयाे संविधान संशोधन विधेयक

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गरेकी हुन् । संशोधन प्रस्तावमा कसैको पनि विरोध परेको छैन ।

यसअघि सरकारले गत जेठ १४ गतेको बैठकमा संविधान संसोधन विधेयक पेश गर्न खोजेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पास गर्नका लागि समय मागेका थिए ।

शनिवार बसेको कांग्रेस केन्द्रीय समितिले सरकारले ल्याएको संविधान संसोधन प्रस्तावको पक्षमा रहने निर्णय गर्दै आफ्ना सांसदहरुलाई पनि सोही अनुसार निर्देशन दिइसकेको छ।

सरकारले भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि संविधानको धारा ९ को उपधारा २ अन्तर्गत रहेको अनुसूची ३ मा व्यवस्था भएको नेपालको निशान छापबारे संशोधन गर्न लागिएको हो ।

संविधान संशोधनपछि निशान छापमा रहेको पुरानो नेपालको नक्साका ठाउँमा नयाँ नक्सा अध्यावधिक हुनेछ । संशोधन विधेयकमा काँग्रेसको समेत समर्थन रहेपछि पारित हुने निश्चित जस्तै छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.