गुप्तचरलाई ‘कल–ट्यापिङ’ गर्न दिने विधेयक माथिल्लाे सदनबाट पारित

काठमाडौं । गुप्तचर निकायलाई फोन ट्यापिङ (इन्टरसेप्सन)को अधिकार दिने गरी कानुन बनाउन माथिल्लाे सदन राष्ट्रिय सभाले स्वीकृति दिएको छ । व्यक्तिको समेत टेलिफोन ट्यापिङको अधिकार गुप्तचर निकायलाई दिने व्यवस्था गरिएको ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सभाले बुधबार बहुमतले पारित गरेको छ।

राष्ट्रिय सभाबाट पारित यो विधेयक अब प्रतिनिधि सभामा जानेछ । प्रतिनिधि सभाले जस्ताको तस्तै स्वीकार गरेको खण्डमा राष्ट्रिय अनुसन्धान विभागभित्र छुट्टै प्रतिगुप्तचरी संयन्त्र निर्माण हुनेछ । र उक्त प्रतिगुप्तचरी संयन्त्रले व्यक्तिको समेत फोन ट्यापिङको अधिकार प्राप्त गर्नेछ । प्रचलित कानून अनुसार कल ट्यापिङका लागि अदालतको अनुमति अनिवार्य छ । राष्ट्रिय सभाबाट पारित विधेयक अनुसार गुप्तचर निकायले अदालतको अनुमति लिनुपर्दैन ।

धेरै देशमा फोन ट्यापिङको व्यवस्था भएको र नेपालको हकमा पनि व्यक्तिगत गोपनीयता सुरक्षित राख्ने गरी सूचना संकलनसम्बन्धी विशेष व्यवस्थामा टेलिफोन ट्यापिङको अधिकार दिने व्यवस्थालाई स्वीकृति प्रदान गरिएको राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले जानकारी दिए ।

बुधबार राष्ट्रिय सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले मुलुक र जनताको सुरक्षाका लागि आवश्यक व्यवस्थालाई समेटेर विधेयक ल्याइएको बताइन् ।
‘मुलुकको सुरक्षा, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र नेपाली जनताको सुरक्षा, विशिष्ठ, अति विशिष्ठ व्यक्तिहरुको सुरक्षामा केन्द्रित छ । यही उद्देश्य र प्रयोजनका निम्ति यो विधेयक अगाडि बढाएका छौं’, तुम्बाहाङ्फेले भनिन् ।

नेकपा सांसद कोमल वलीले प्रतिगुप्तचरीलाई सूचनाका लागि फोन ट्यापिङको अधिकार दिनु उचित रहेको बताइन् । ‘जसले देशको विरुद्ध र संविधानको विरुद्धमा गतिविधि गर्छ, उसको इन्टरसेप्सन गर्ने कुरा हो, यो कानुन आवश्यक थियो, ठीक छ’ सांसद वलीले भनिन् ।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.