२० जनालाई बाख्रा उपहार

झापा । मेचीनगरका शारीरिक अशक्त भएका २० जना व्यक्तिलाई गैरसरकारी संस्थाले आयआर्जनमा सघाउ पुगोस् भनेर दुई वटाका दरले बाख्रा उपहार दिएका छन् । बाख्रा उपहार पाउनेमध्ये एक जना जन्मँदै अपाङ्गता भएका मेचीनगर–४ बाहुनडाँगीका १५ वर्षीय आशिष जोगी हुन् ।

उनी राम्रोसँग बोल्न सक्दैनन् । आशिषकी आमा गोमा जोगीले ती बाख्रा बुझेर घर लगिन् । आयआर्जनको कुनै स्रोत नभएको बताउने गोमाले अपाङ्गता भएको छोराको नाममा बाख्रा पाउँदा हर्षित भएको बताइन्।

“घर लान्छु र राम्ररी स्याहार्छु”, बाख्रा उपहार पाएपछि जोगीले भनिन्, “शारीरिक अपाङ्गता भएको छोरालाई कसैले सहयोग गर्दैनन् जस्तो लाग्थ्यो, बाख्रा नै देलान् भन्ने सोचेकी थिइन ।” राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ, समाज सेवा सुधार सङ्घ र अपाङ्ग सहयोग समिति झापाले ती बाख्रा वितरण गरेका हुन् ।

काठमाडौँमा प्रधान कार्यालय रहेको राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपालले कोरियन दातृ संस्थाको सहयोगमा बाख्रापालनका लागि रु पाँच लाख आर्थिक प्राप्त गरेको आयोजक संस्था समाज सेवा सुधार सङ्घका अध्यक्ष धर्म घिमिरेले बताए ।

उनका अनुसार प्रत्येक संस्थाले २०÷ २० गरी झापामा ६० जना शारीरिक अपाङ्गता भएकालाई स्थानीय जातका बाख्रा वितरण गर्ने भएको छ । जसमध्ये पहिलोचरणमा मेचीनगरका २० जनालाई दुई÷दुई वटाका दरले बीउ बाख्रा वितरण गरिएको हो । अरु क्षेत्रमा यसरी नै बाख्रा वितरण गरिने बताइएको छ ।

बाख्रा लैजानेले दुई वर्षमा दुईवटा पाठा संस्थालाई फिर्ता गर्नु पर्नेछ । भविष्यमा आउने ती पाठालाई अरु अपाङ्गता भएका व्यक्तिलाई बीउको रुपमा वितरण गरिने सङ्घका उपाध्यक्ष गङ्गा संग्रौलाले बताइन् । मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले अशक्त व्यक्तिको आर्थिक आयआर्जन बढाउनका लागि बाख्रा वितरण कार्यक्रम उदाहरणीय भएको बताइन् ।

समाज सेवा सुधार सङ्घका अध्यक्ष घिमिरेले वितरण गरिएका बाख्राको बीमा नगरपालिकाले गरिदिने र दुई महिना पुग्ने ५० केजीको दरले पशुआहार दानासमेत उपलब्ध गराइएको बताए ।

उनीहरुलाई पाँच दिनसम्म प्रशिक्षक मदनकुमार भण्डारी र कमलप्रसाद खनालले बाख्राको जात, टाट्नोको व्यवस्था, सरसफाइ, बिरामी भएमा उपचार गर्ने प्रविधि र बाख्रा राख्ने खोरको बारेमा सिकाएका थिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.