डलर साट्ने भन्दै ठगीकाे धन्दा, मोटरसाइकलसहित नाइके पक्राउ

भक्तपुर । सस्तोमा डलर साट्ने बहानामा विभिन्न व्यक्ति ठगि गर्ने गिरोहका मुख्य नाइके सिन्धुपाल्चोक बाह्रबिसे नपा–२ का कमल खड्कालाई प्रहरीले मोटरसाइकलसहित पक्राउ गरेको छ ।

यही असोज १८ गते मध्यपुरथिमिस्थित दिब्यश्वरी टाउन प्लानिङमा सस्तोमा डलर साट्न आएका बालाजुस्थित बिजी मलमा ब्यापार गर्ने प्रकाश बुढाथोकीको बा.१५च ४०५ नम्बरको गाडीको सिसा फुटाएर रु चार लाख लुटेर भागेका खड्कालाई प्रहरीले सानोठिमीबाट पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिनुभयो ।

यही असोज २० गते नै घट्नामा संलग्न रहेकामध्ये सिन्धुपाल्चोक बाह्रबिसेका ३१ वर्षीय धनबहादुर भण्डारी र लुटेरा समूहलाई डलर उपलब्ध गराउने ट्याक्सी चालक सञ्चबहादुर योञ्जनलाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले खड्काको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत ठिमी र अपराध अनुसन्धान महाशाखाको टोलीले सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडिबाट उनी सवार लु.६४प. ३४०१ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।

प्रहरी अनुसन्धानका क्रममा यही असोज २० गते लुटेको पैसाले २१ गते बौद्धस्थित बजाजको सोरुमबाट रु तीन लाख २७ हजारमा नयाँ मोटरसाइकल किनेर खड्का बाह्रबिसे आफ्नो गाउँ पुगेर भोज खुवाएर फर्किएको खुलेको बताइएको छ ।

असोज १३ गते कमलविनायक बसपार्कमा रमेश बराइलीबाट लुटेको रु पाँच लाखमध्ये खड्काले रु दुई लाख लिएर भागेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । प्रहरीले उनकोे साथबाट रु २० हजार बरामद गरेको छ । लुटेरा समूहका यज्ञबहादुर भण्डारी भने अझै फरार रहेकाले प्रहरीको खोजी जारी छ ।

यही असोज ८ गते बालकोटस्थित रोज भिलेज अगाडि डलर देखाएर गोरखाका सुदर्शन थापाबाट रु. पाँच लाख लुटपाट गर्ने बाह्रबिसे नगरपालिका–४ घर भई भक्तपुर व्यासी बस्ने राकेश भण्डारीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कागजको व्याण्डलमा तल र माथि डलर राखेर देखाउने र रुमालमा पोको पारेको कागजको बण्डल दिएर नेपाली पैसा लिएर फरार हुने गिरोहका १२ जनालाई महानगरीय प्रहरी परिसर भक्तपुर र वृत्त थिमिले पक्राउ गरेको छ । रासस

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.