सेती अस्पतालमा धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । धनगढी-५की ५७ वर्षीया महिलाको उपचारको क्रममा बुधबार साँझ ५ बजे मृत्यु भएको चिकित्सक अशोक चौधरीले बताए । भदौ १७ गते कोरोना देखिएको ती महिलालाई भदौ १९ गते अस्पतालमा भर्ना गरिएको थियो ।

भदौ २४ गते अस्पतालमा उनको प्लाज्मा थेरापी गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । सेती प्रादेशिक अस्पतालको प्लाज्मा थेरापी विधि प्रयोग गरेर कोरोना संक्रमितको उपचार गरिएको यो पहिलो केस थियो ।

‘प्लाज्मा थेरापीपछि उनको स्वास्थ्य अवस्था स्थिर थियो,’डा.चौधरीले भने,‘दुई दिनदेखि बिरामीको अवस्था झन जटिल बन्यो । त्यसपछि सुधार हुन सकेन ।’ सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या १५ पुगेको छ ।

Facebook Comments