केन्द्रीय कमिटीको बैठक कात्तिकमा गर्न नेकपा अध्यक्षद्वय सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड केन्द्रीय कमिटी बैठक कात्तिकमा डाक्न सहमत भएका छन् ।

शुक्रबार बस्‍न लागेको स्थायी कमिटीको बैठकका लागि तयार पारेको सहमतिको प्रस्तावमा कात्तिकमा केन्द्रीय कमिटीको बैठक राख्ने प्रस्ताव अघि सारेका हुन् । पार्टीको दोस्रो बैठकको निर्णयानुसार पार्टीको एकता महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्नका लागि बैठक राख्‍न लागिएको हो ।

‘महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न कार्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गरेर उक्त बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने,’ अध्यक्षद्वयको प्रस्तावमा उल्लेख गरिएकाे छ ।

केन्द्रीय कमिटीको बैठकले महाधिवेशनको कार्ययोजनासम्बन्धी प्रस्तावमा छलफल गरी आवश्यक निर्णय लिनेछ । ‘संगठन विभागको कार्ययोजनाका आगामी कात्तिकभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने’, प्रस्तावमा भनिएको छ, मंसिरभित्र संगठित सदस्यता नवीकरण सम्पन्‍न गर्ने।

प्रवास क्षेत्रमा पनि सोहीअनुरुप गर्नुपर्छ।’ केन्द्रीय सचिवालयले पार्टी विधान, नियमावली र निर्धारित मापदण्डका आधारमा एकता–एकीकरणका बाँकी कामहरु असोज महिना भित्र सम्पन्‍न गर्नेसमेत उल्लेख गरिएको छ।

Facebook Comments