विराटनगर । मोरङको बेलबारी नगरपालिका ११ मा छिमेकी बालकहरुलाई डरत्रास देखाई पहिले जर्बजस्ती गर्न लगाई एक पुरुषले पछि तिनै १६ वर्षीया दलित बालिकालाई बलात्कार गरेका छन् । नजिकैको चारकोसे जंगलमा छिमेकी बालकहरुसहित निउरो टिप्न गएका बेला दलित बालिकामाथि बलात्कार भएको हो ।
प्रहरीका अनुसार ४० वर्षीय होम तामाङले पहिले बालकहरुलाई लाठीले हिर्काउने डरत्रास देखाउँदै बालिकामाथि बलात्कार गर्न लगाएका थिए । ११, १२ र १३ वर्षका ती बालकहरु बलिकाका छिमेकी हुन् । तामाङले चारैजनालाई जनालाई नियन्त्रणमा लिएर घटना गराएको खुल्न आएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रहरी निरीक्षक ऋषिराज ढकालले भने, “घटनाबारे सूक्ष्म अनुसन्धान सुरु गरिसकेका छौं ।” डर देखाएका कारण ती बालकहरुले तमाङले जसोजसो गर्न भने त्यस्तै गरेको खुल्न आएको प्रहरीको भनाइ छ । तामाङले बालकहरुकै अगाडि बालिकालाई बलात्कार गरेको र यसलाई आश्चर्यजन अनि अनौठो घटनाका रुपमा लिँदै प्रहरीले अनुसन्धान अघि बढाएको बेलाबारी प्रहरीले जनाएको छ । अपराह्नतिर स्थानीय लक्ष्मी सामुदायिक वनमा निउरो टिप्न गएका बेला घटना भएको हो ।
घटनापछि बालक र बालिका निउरो नलिई आएको र चारैजनाको व्यवहार फरक पाएपछि परिवारले सोधीखोजी गर्दा घटना सार्वजनिक भएको बताइन्छ । तामाङले घटनाबारे कसैलाई भने ज्यान मार्नेसम्मको धम्की दिएकाले भोलिपल्ट मात्र उनीहरुले परिवारका सदस्यलाई घटनाबारे बताएका थिए ।
स्थानीयका अनुसार श्रीमतीले छाडेपछि तामाङ एक्लो थिए । काम नगरी डुलेर हिँड्थे । सन्तानले पनि उनलाई छाडेका थिए । पहिले पनि तामाङले बालिकालाई जिस्क्याउने तर चिनजानका भएकाले त्यति वास्ता नगरेको बालिकाले प्रहरीलाई जानकारी गराएको बताइएको छ ।
बालिकाको शरीरमा चोटसमेत लागेको र स्वास्थ्य परीक्षण गर्न कोसी अस्पताल पठाइएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणबाट बलात्कार भएको पुष्टि भएको प्रहरीको भनाइ छ । श्रीमतीले छाडेपछि तामाङ भाइबुहारीसँग बस्दै आएका थिए । तामाङ अहिले फरार छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments