काठमाडौं । बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए ।
भाटभटेनीले बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गरिरहेको छ । गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको छ ।
‘नेपालगञ्जमा ७ सय रुपैयाँमा प्रतिकेजी खसीको मासु पाइन्छ, हामीले नेपालगञ्जसँगै भैरहवाबाट पनि ल्याउँदै छौं, त्यसमा थोरै मूल्य राखेर बिक्री गर्दा ग्राहकहरुले सस्तो मूल्यमा खसीको मासु पाउन थालेका छन्,’ उनले भने । उनका अनुसार भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको जानकारी दिए ।
बजारमा खसीको मासु बिचौलियाका कारण महंगो भएको भन्दै गुरुङले नेपालगञ्जबाट ल्याएर भए पनि सस्तो मूल्यमा बिक्री गर्न शुरु गरेको बताए । उनका अनुसार भाटभेटनीका सबै स्टोरबाट ८५० रुपैयाँ केजी मै खसीको मासु किन्न पाइन्छ ।
Facebook Comments