सङ्क्रमित थुनुवा आइसोलेसनबाटै फरार

काठमाडाैँ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् ।

कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका ती थुनुवा आइतबार फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।

लागूऔषध कोरेक्स मुद्दाका ती थुनुवालाई यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि कृषि तालीम केन्द्रको आइसोलेसनमा लगिएको थियो । पाँच सिसी लागूऔषध कोरेक्ससहित ती व्यक्ति पक्राउ परेका थिए ।

आइसोलेसनबाटै सङ्क्रमित थुनुवा फरार भएपछि खोजीका लागि सुरक्षा टोली परिचालन गरिसकेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो । सङ्क्रमित थुनुवा फरार भएपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा फिर्ता बोलाएर आवश्यक अनुसन्धान भइरहेको छ । उक्त आइसोलेसनमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच प्रहरी खटिएका थिए । 

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.