काठमाडौं । सरकारले भदौं १६ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउनेछ ।
यस्तै सरकारले पिसिआर परीक्षण सहज नभएका मुलुकबाट नियमित उडाउनमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ। कतार, साउदी अरब र कुवेतलगायत पिसिआर परीक्षण सहज नभएका अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय भएको मन्त्र खतिवडाले बताए ।
पिसिआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै सरकारले उक्त निर्णय गरेको हो। खतिवडाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गर्न सकिने जनाए।
त्यस्ता उडानबाट आउने यात्रुले सात दिन होटलमा क्वारेन्टिनमा बस्नुपर्नेछ। स्वास्थ्य परीक्षणपछि होटलबाट गए पनि १४ दिन होम आइसोलेसनमा बस्ने लिखित सम्झौता गर्नुपर्ने जनाइएको छ ।
Facebook Comments