एजेन्सी । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएका एक भूतपूर्व अधिकारीलाई एक नातेदारसँग मिलेर चीनका लागि जासुसी गरेको आरोपमा पक्राउ गरिएको छ। ती नातेदार पनि सीआईएका कर्मचारी थिए ।
सतसट्ठी वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ ।
उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ । चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् ।
मालाई मङ्गलवार अदालतमा पेस गरिन लागेको छ । दोषी ठहर भएमा उनलाई आजीवन कारावास सजाय हुनसक्छ । माको जन्म हङ्कङमा भएको थियो । तर उनी अमेरिकाका अङ्गीकृत नागरिक हुन् ।
उनले सन् १९८२ मा सीआईएमा काम गर्न थालेका थिए । अभियोजनकर्ताहरूका अनुसार सात वर्षपछि सीआईए छोडेर उनी अर्कै काम गर्न चीनको शाङ्घाई गए र २००१ मा फर्किए ।
मार्च २००१ मा हङ्कङमा भेटघाटहरू भएपछि मा र उनका नातेदारले एक दशक चीनका लागि जासुसी गरेको आरोप छ । ती दुईले “सीआईएका कर्मचारी, गतिविधि र सञ्चार गोप्य राख्ने उपायहरू” बारे चिनियाँ पक्षलाई जानकारी दिएको बताइएको छ ।
हङ्कङमा भएको एउटा भेटमा गोप्य सूचना दिएबापत माले ५०,००० डलर लिएको भिडिओ प्रमाण उपलब्ध भएको अमेरिकाको दाबी छ । अदातलमा पेस गरिएको कागतपत्रमा हवाईमा बस्दा माले चीनका लागि सूचना सङ्कलन गर्ने उद्देश्यले एफबीआईमा काम गर्न खोजेको उल्लेख छ ।
उनलाई एफबीआईको होनोलुलुस्थित कार्यालयले सन् २००४ मा करारमा भाषाविद्को जागिर दिएको थियो। उनले त्यहाँबाट गोप्य कागजपत्र चोरेको आरोप छ । तर उनलाई किन पक्राउ गरिएको थिएन भन्ने स्पष्ट छैन । माको षड्यन्त्रमा संलग्न उनका नातेदारको नाम उल्लेख गरिएको छैन ।
तर उनी ८५ वर्षका भएको र अमेरिकाका अङ्गीकृत नागरिक भएको अभियोजनकर्ताहरूको भनाइ छ । उनी शाङ्घाईमा जन्मिएका थिए। स्वास्थ्यस्थिति कमजोर भएकाले ती वृद्धलाई पक्राउ गर्न खोजिएको छैन ।
अमेरिकी सहायक महाधिवक्ताले चीनले लामो समयदेखि जासुसी गरेको र अमेरिका पूर्वगुप्तचरहरू पनि संलग्न भएको बताएका छन् । नोभेम्बर महिनामा चीनका लागि जासुसी गरेको ठहर भएका जेरी चुन शिङ लीलाई १९ वर्ष कैद सुनाइएको थियो ।
लीले उपलब्ध गराएको जानकारीका आधारमा चीनले सन् २०१० देखि २०१२ सम्म सूचनादाताको एउटा सञ्जाललाई ध्वस्त बनाइदिएको थियो । सीआईएका अर्का गुप्तचर केभिन मेलोरीलाई गत वर्ष मे महिनामा २० वर्षको सजाय सुनाइयो ।
त्यसैगरी दोषी ठहर भएका रोन रक्वेल ह्यान्सनले सेप्टेम्बर महिनामा १० वर्षको सजाय पाए ।
Facebook Comments